November 20th, 2024

कर्जाको औसत ब्याजदर ९% को लाइनमा

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको असोजमा वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर ९.३३ प्रतिशत रहेको छ। अघिल्लो वर्ष असोजमा वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर १२.११ प्रतिशत रहेको थियो।

यसैगरी चालु आर्थिक वर्षको असोजमा कर्जाको भारित औसत ब्याजदर विकास बैंकहरुको १०.६३ प्रतिशत र वित्त कम्पनीहरुको ११.८६ प्रतिशत रहेको छ। अघिल्लो वर्ष असोजमा विकास बैंकहरुको १३.९१ प्रतिशत र वित्त कम्पनीहरुको १४.६१ प्रतिशत रहेको थियो।

तथ्यांकअनुसार २०८१ असोजमा वाणिज्य बैंकहरुको औसत आधार दर ७.२९ प्रतिशत, विकास बैंकहरुको ९.१३ प्रतिशत र वित्त कम्पनीहरुको १०.३५ प्रतिशत रहेको छ। २०८० असोजमा वाणिज्य बैंकहरुको औसत आधार दर ९.९४ प्रतिशत, विकास बैंकहरुको १२.३० प्रतिशत र वित्त कम्पनीहरुको १३.६५ प्रतिशत रहेको थियो।

२०८१ असोजमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ५.२४ प्रतिशत, विकास बैंकहरुको ५.९४ प्रतिशत र वित्त कम्पनीहरुको ७.२१ प्रतिशत रहेको छ। २०८० असोजमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ७.९० प्रतिशत, विकास बैंकहरुको ९.३६ प्रतिशत र वित्त कम्पनीहरुको १०.१९ प्रतिशत कायम भएको थियो।