November 18th, 2024

घरजग्गा कारोबार : कात्तिकमा देखिएन सुधार

बैंकिङ खबर/ कात्तिकमा घरजग्गा कारोबारमा अपेक्षित सुधार नदेखिएको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकले देखाएको छ ।

गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्ष कात्तिकमा घरजग्गा कारोबारको लिखत पारितसँगै राजस्वमा केही सुधार देखिएको छ ।

कात्तिकमा केही सुधार देखिए पनि चालु आव २०८१/८२ चार महिनाको लिखत पारित र राजस्व संकलन तथ्यांकले घरजग्गा कारोबारमा सुधार नभएको देखाउँछ । कात्तिकमा गत वर्षको तुलनामा राजस्व र लिखत पारित दुवै बढेको छ ।

असोजमा लिखत पारित र राजस्व दुवै घटेको थियो । गत वर्ष दशैंतिहार लगायत चाड कात्तिकमा नै परेकाले धेरै दिन सार्वजनिक बिदा परेको थियो । यो वर्ष दशैं असोज र तिहार कात्तिकमा थियो ।

चालु आव चार महिनामा १ लाख ४० हजार ६ सय ७५ लिखत पारित हुँदा १२ अर्ब ७१ करोड ६ लाख रुपैयाँ बराबर राजस्व संकलन भएको भुमी व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक छ । गत आव पहिलो ६ महिनामा १ लाख ४० हजार ८ सय ७६ लिखत पारित हुँदा १२ अर्ब २० करोड ६८ लाख राजस्व संकलन भएको थियो ।

कात्तिकमा ३३ हजार ५ सय १५ लिखत पारित हुँदा २ अर्ब ७० करोड ४० लाख राजस्व संकलन भएको छ । गत आव सोही अवधिमा २६ हजार ४६ लिखत पारित हुँदा २ अर्ब १६ करोड ८९ लाख राजस्व संकलन भएको थियो ।

कात्तिकमा गत आव सोही अवधिको तुलनामा लिखत पारित २६.६८ प्रतिशत र राजस्व संकलन २४.९६ प्रतिशतले बढेको विभागको तथ्यांकले देखाउँछ ।

चालु आव असोजमा ३० हजार ५ सय २७ लिखत पारित हुँदा ३ अर्ब ८ करोड १२ लाख राजस्व संकलन भएको थियो । असोजको तुलनामा कात्तिकमा लिखत पारित बढे पनि राजस्व भने घटेको छ ।

सरकार र नेपाल राष्ट्र बैंकले घरजग्गा कारोबार चलायमान बनाउन भन्दै विभिन्न नीतिगत सहजीकरण समेत गरेका छन् । सरकारले भूउपयोग नियमावली संशोधन मार्फत जग्गा कित्ताकाटमा समेत सहजीकरण गरिसकेको छ ।

सरकारले घरजग्गा कारोबारमा शिथिलता देखिएको र समग्र अर्थतन्त्रमै त्यसको प्रभावले आर्थिक गतिविधि संकुचन भएको भन्दै भदौ २०८० मा भूउपयोग नियमावली २०७९ मा पहिलो संशोधन गरेको थियो ।

जेठ २०७९ मा आएको भूउपभोग नियमावली १५ महिनामै संशोधन गरे पनि त्यसले घरजग्गा कारोबारको शिथिलतालाई ठूलो राहत दिन भने सकेन ।