November 18th, 2024

जीडीपी ३.५४% ले बढ्ने अनुमान, औसत उपभोक्ता मुद्रास्फीति ५.४४%

बैंकिङ खबर/ आर्थिक वृद्धिदर सन् २०२४ / २०२५ मा ३.२ प्रतिशत रहने प्रक्षेपण छ । अन्तर्राष्ट्रिय मुद्रा कोषद्वारा २०२४ अक्टोबरमा प्रकाशितअनुसार सन् २०२२ मा विश्वको आर्थिक वृद्धिदर ३.६ प्रतिशत रहेकोमा सन् २०२३ मा ३.३ प्रतिशत रहेको छ ।

सन् २०२४ मा विकसित देशहरूमा उपभोक्ता मुद्रास्फीति २.६ प्रतिशत र उदीयमान तथा विकासोन्मुख देशहरूमा ७.९ प्रतिशत रहने अनुमान छ । सन् २०२३ मा उपभोक्ता मुद्रास्फीति विकसित देशहरूमा ४.६ प्रतिशत र उदीयमान तथा विकासोन्मुख देशहरूमा ८.१ प्रतिशत रहेको थियो ।

त्यस्तै, राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार आर्थिक वर्ष २०८०/८१ मा नेपालको कुल गार्हस्थ्य उत्पादन आधारभूत मूल्यमा ३.५४ प्रतिशतले बढेको प्रारम्भिक अनुमान छ । समीक्षा वर्षमा आधारभूत मूल्यमा कृषि क्षेत्रको उत्पादन ३.०५ प्रतिशतले र गैर–कृषि क्षेत्रको उत्पादन ३.७५ प्रतिशतले बढेको अनुमान छ ।

त्यसैगरी आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति २०८० साउन ७ गते सार्वजनिक गरिएको थियो । वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ६.५ प्रतिशतभित्र कायम राख्ने मौद्रिक नीतिको लक्ष्य रहेको थियो । साथै न्यूनतम ७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने विदेशी विनिमय सञ्चिति कायम गर्ने मौद्रिक नीतिको लक्ष्य रहेको थियो ।

आर्थिक वर्ष २०८०/८१ मा औसत उपभोक्ता मुद्रास्फीति ५.४४ प्रतिशत रहेको छ । अघिल्लो वर्ष वार्षिक औसत मुद्रास्फीति ७.७४ प्रतिशत रहेको थियो । आर्थिक वर्ष २०८०/८१ मा कुल वस्तु निर्यातमा ३.० प्रतिशतले कमी आई रु.१५२ अर्ब ३८ करोड र कुल वस्तु आयातमा १.२ प्रतिशतले कमी आई रु.१५९२ अर्ब ९९ करोड रहेको छ । समीक्षा वर्षमा कुल वस्तु व्यापार घाटा १.० प्रतिशतले घटेर रु.१४४० अर्ब ६० करोड रहेको छ । यो कुल गार्हस्थ्य उत्पादनको २५.३ प्रतिशत हो ।

आर्थिक वर्ष २०८०/८१ मा चालु खाता रु.२२१ अर्ब ३४ करोडले र शोधनान्तर स्थिति रु.५०२ अर्ब ४९ करोडले बचतमा रहेको छ । २०८१ असार मसान्तमा कुल विदेशी विनिमय सञ्चिति रु.२०४१ अर्ब १० करोड बराबर कायम भएको छ । अमेरिकी डलरमा विदेशी विनिमय सञ्चिति १५ अर्ब २७ करोड रहेको छ । २०८१ असार मसान्तमा कायम रहेको विदेशी विनिमय सञ्चितिले १५.६ महिनाको वस्तु आयात र १३.० महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने देखिन्छ ।

आर्थिक वर्ष २०८०/८१ मा नेपाल सरकारको अन्य प्राप्ति समेत गरी रु.१० खर्ब ८२ अर्ब ७५ करोड राजस्व संकलन भएको छ । कुल सरकारी खर्च रु.१४ खर्ब ८ अर्ब २ करोड रहेको छ ।

आर्थिक वर्ष २०८०/८१ मा विस्तृत मुद्राप्रदाय १३.० प्रतिशतले बढेको र संकुचित मुद्राप्रदाय १.३ प्रतिशतले घटेको छ । त्यसैगरी, कुल आन्तरिक कर्जा ६.१ प्रतिशतले तथा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ६.१ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १३.० प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ५.८ प्रतिशतले बढेको छ ।