Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

बैंक ग्राहकको पहिचानसम्बन्धी सूचना आदान–प्रदान गर्न छुट्टै संरचना बन्दै

२०८१ कार्तिक ३० गते

बैंकिङ खबर/ बैंक, वित्तीय संस्थाका ग्राहकहरूको पहिचानसम्बन्धी सूचना आदान–प्रदान गर्न छुट्टै संरचना बन्ने भएको छ । नेपाल राष्ट्र बैंकले कर्जा सूचना केन्द्रकै मोडलमा छुट्टै संस्था निर्माण गरी त्यसैमार्फत ग्राहक पहिचानको सूचना आदान–प्रदान गर्ने केन्द्रको स्थापना गर्न लागेको हो ।

राष्ट्र बैंकले चालू आर्थिक वर्ष (आव) को मौद्रिक नीतिमा केन्द्रीय ग्राहक पहिचान प्रणाली (सेन्ट्रलाइज्ड केवाईसी) निर्माण गरी कार्यान्वयन गर्ने घोषणा गरेको थियो । यसका लागि राष्ट्र बैंकले गतवर्ष अध्ययन पनि गरेको थियो ।

ग्राहक पहिचानको सूचना आदान–प्रदान गर्ने संस्थाको संरचना, यसको सञ्चालन मोडललगायत विषयमा छलफल भइरहेको राष्ट्र बैंकले जनाएको छ ।

सरकारले गतसाता जारी गरेको सम्पत्ति शुद्धीकरण निवारण नियमावली–२०८१ मा सूचक संस्थाहरूले ग्राहक पहिचानका लागि सरकारले नागरिकता प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र जारी गर्दा राखेको विद्युतीय अभिलेख प्रयोग गर्न सक्ने व्यवस्था गरेको छ ।

यो व्यवस्थाका कारण अब बैंक वित्तीय संस्थाहरूले ग्राहकको पहिचानका लागि नागरिकता र राष्ट्रिय परिचयपत्रको विवरण प्रयोग गर्न सक्ने बाटो खुलेको छ । तर, यसबाट मात्र ग्राहक पहिचानका लागि सबै विवरण नपुग्ने भएकाले छुट्टै संरचना आवश्यक पर्ने राष्ट्र बैंकले जनाएको छ ।