November 11th, 2024

२६ अर्बले घट्यो नोट सटही

बैंकिङ खबर/ यस वर्षको चाडपर्वमा सर्वसाधारणले अर्बौ रुपैयाँले नोट खपत घटाएका छन्। हरेक वर्ष चाडपर्व लक्षित गर्दै नयाँ नोट सटही सुविधा दिने नेपाल राष्ट्र बैंकले यसपटक सुकिला नोट सटही सुविधा दिएको थियो। दसैंमा नयाँ नोट नपाएपछि सर्वसाधारणले नोट सटही २६ अर्ब रुपैयाँले घटाएका हुन्।

गत वर्ष राष्ट्र बैंक र अन्य बैंक तथा वित्तीय संस्थाबाट सर्वसाधारणले २९ अर्ब रुपैयाँ बढी दसैंका लागि खुला गरिएको समयमा नोट सटही गरेका थिए।  यसपटक राष्ट्र बैंक र अन्य बैंकबाट गरी ३ अर्ब रुपैयाँ बढी मात्रै सर्वसाधारणले नोट सटही गरेका छन् ।

यस पटकको चाडपर्वमा राष्ट्र बैंकले सुकिला नोट मात्रै सटही गरेको हुँदा सटही घटेको र सुकिला नोट सर्वसाधारणबाट बैंक फिर्ता भएर आउँदा अघिल्लो वर्षमा भन्दा बढी झुत्रो भएर पुन प्रयोगमा पठाउँन नमिल्ने भएर आउन सक्ने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले यस पटक भने उक्त खर्च कटौती गर्दै दसैंमा साना तथा ठूला दरका नोट आवश्यक हुनेलाई एक वर्षअघि बजारमा पठाएर फिर्ता आएका सुकिला नोटलाई नै बैंकमार्फत सटही व्यवस्था मिलाएको थियो। राष्ट्र बैंकले यस पटकको दसैं लक्षित ५ देखि १०० सय रुपैयाँसम्मका साना दरका नोट मात्रै सर्वसाधारणमा सटही सुविधा दिएको थियो।