November 6th, 2024

मंसिरमा थप ब्याजदर घट्दै

बैंकिङ खबर/ निरन्तर घट्दै गएको बैंकहरुको ब्याजदर मंसिरमा पनि घट्ने भएको छ । बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम (तरलता) पर्याप्त भएपछि बैंकहरूले मंसिरमा पनि ब्याजदर घटाउन लागेका हुन् । कात्तिकका लागि वाणिज्य बैंकहरूको मुद्दती निक्षेपको औसत ब्याजदर ६.१९ प्रतिशत छ ।

राष्ट्र बैंकको नीति अनुसार, वाणिज्य बैंकहरूले हालको ब्याजदरमा आगामी महिना १० प्रतिशत थप गर्न वा घटाउन सक्छन् । नेपाल राष्ट्र बैंकका अनुसार, कात्तिक २० गतेसम्म बैंक तथा वित्तीय संस्थाले ६६ खर्ब ४० अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् ।

उक्त अवधिमा बैंक तथा वित्तीय संस्थाबाट ५२ खर्ब ७६ अर्ब रुपैयाँ ऋण प्रवाह भएको छ । बैंक तथा वित्तीय संस्थाले कात्तिक २० गतेसम्मको निक्षेप संकलनको आधारमा ५९ खर्ब ७६ अर्ब रुपैयाँ लगानी गर्न सक्छन् । किनभने राष्ट्र बैंकले कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशत कायम गरेको छ । कात्तिक २० गतेसम्म सीडी रेसियो ७८.१२ प्रतिशत छ ।

राष्ट्र बैंकको नीति अनुसार, बैंकहरूसँग सात खर्ब रुपैयाँ लगानीयोग्य रकम छ । बैंकहरूले कुल निक्षेपको २० प्रतिशत तरल सम्पत्ति राख्नुपर्ने व्यवस्था छ । बैंकबाट ऋण लगानी बढ्न नसकेपछि आगामी महिना बैंकहरू ब्याजदर घटाउन बाध्य हुने नेपाल बैंकर्स संघले जनाएको छ ।