सेयर बजारमा तीव्र उतारचढाव आइरहँदा कारोबार रकम भने खासै प्रभावित भएन । साताको आइतबार ९५ करोडको कारोबार भएको बजारमा सोमबार एक अर्ब नौ करोडको कारोबार भयो । त्यस्तै, मंगलबार एक अर्ब १६ करोडको कारोबार भयो भने बुधबार एक अर्ब ३२ करोड र विहीबार एक अर्ब २० करोडको कारोबार भयो । समग्रमा साताभर पाँच अर्ब ७४ करोड ७४ लाख ३१ हजार चार सय १९ रुपैयाँ पुँजी परिचालन भएको छ । गत साता पाँच अर्ब छ करोड ३८ लाख ३४ हजार छ सय नौ रुपैयाँ पुँजी परिचालन भएको थियो ।
यो साता पनि सबैभन्दा धेरै कारोबार एभरेष्ट बैंककै भएको छ । साताभरमा बैंकको ७१ करोड ३४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । गत साता एभरेष्ट बैंकको ७१ करोड १२ लाख ९६ हजार चार सय ७७ रुपैयाँको कारोबार भएको थियो । यसबाहेक, शिखर इन्स्योरेन्स, बैंक अफ काठमाण्डू लुम्बिनी, सिद्धार्थ बैंक, लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल, लुम्बिनी जेनेरल इन्स्योरेन्स लगायतको पनि राम्रो कारोबार भएको छ ।
मितेरी डेभलपमेन्ट बैंक, वोमी माइक्रोफाइनान्स, ग्रीन डेभलपमेन्ट बैंक, राष्ट्रिय बीमा कम्पनी, लक्ष्मी लघुवित्त लगायतका सेयरधनीले आफ्नो सम्पत्ति बढाएका छन् । युनियन फाइनान्स, बोटलर्स नेपाल, अपि पावर कम्पनी लगायतले गुमाएका छन्
तीव्र उतारचढावबाट बाहिर निस्किन लागेको सेयर बजारलाई पुनः संविधान संशोधनको अन्यौलताले प्रभाव पारेको देखिएको छ । बजारको स्थिती हेर्दा यति नै घट्छ या यति नै बन्छ भन्ने स्थिती नरहेको सेयर विश्लेषकहरु बताउँछन् ।