बैंकिङ खबर/ गत असोज महिनामा वाणिज्य बैंकहरूको कर्जा प्रवाह वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार असोज महिनामा बैंकहरुको कर्जा प्रवाह ५६ अर्ब ३० करोड रुपैयाँले बढेको हो ।
भदौमा वाणिज्य बैंकहरूको कर्जा प्रवाह करिब ५३ अर्ब रुपैयाँले बढेको थियो । असोजमा थप ५६ अर्ब ३० करोड रुपैयाँले कर्जा प्रवाह बढेको छ । गत भदौ मसान्तसम्म वाणिज्य बैंकहरूको कुल कर्जा प्रवाह ४६ खर्ब २५ अर्ब ६६ करोड थियो । असोज मसान्तसम्म आउँदा त्यो ४६ खर्ब ८१ अर्ब ९६ करोड पुगेको छ ।
असोजको कर्जा प्रवाह पछिल्लो नौ महिनायताकै उच्च हो । यसअघि पुस ०८० मा ७८ अर्ब कर्जा प्रवाह भएको थियो । त्यसपछि माघमा तीन अर्बले कर्जा प्रवाह बढेको थियो भने फागुनमा एक अर्ब रुपैयाँले घटेको कर्जा प्रवाह चैतमा भने ३७ अर्ब रुपैयाँले बढेको थियो । त्यसपछि वैशाखमा १५ अर्ब रुपैयाँले घटेको कर्जा प्रवाह जेठमा २० अर्ब रुपैयाँ, असारमा २९ अर्ब रुपैयाँ र साउनमा दुई अर्ब रुपैयाँले बढेको थियो । त्यसपछि भदौमा एकैपटक ५३ अर्ब रुपैयाँले कर्जा प्रवाह बढेको थियो ।
तथ्यांकअनुसार १ देखि ११ असोजमा १४ अर्ब २६ करोड रुपैयाँ, १२ देखि १८ असोजमा १७ अर्ब २३ करोड रुपैयाँ, १९ देखि २५ असोजमा दुई अर्ब ८१ करोड र २६ देखि ३० असोजमा २२ अर्ब ७५ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ ।
गत आवको असोजमा ८१ अर्ब रुपैयाँ कर्जा प्रवाह बढेको थियो । समीक्षा महिनामा बैंकहरूको निक्षेप भने एक खर्ब ३३ अर्ब ५५ करोड रुपैयाँले बढेको छ ।
भदौ मसान्तसम्म वाणिज्य बैंकहरूमा ५७ खर्ब ८८ अर्ब ५७ करोड रुपैयाँ निक्षेप राखिएको थियो । असोज मसान्तसम्म आउँदा त्यो ५९ खर्ब २२ अर्ब १२ करोड रुपैयाँ पुगेको छ ।




