October 20th, 2024

दुई महिनामा ६६ खर्ब बढी तरलता प्रशोचन

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/ ८२ को दुई महिना साउन र भदौमा ६६ खर्ब बढी तरलता प्रशोचन गरेको छ । केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत ६६ खर्ब ९५ खर्ब १५ करोड रुपैयाँ तरलता प्रशोचन गरेको हो ।

निक्षेप संकलन बोलकबोलमार्फत ४ खर्ब २४ अर्ब ७५ करोड रुपैयाँ र स्थायी निक्षेप सुविधामार्फत ६२ खर्ब ७० अर्ब ४० करोड रुपैयाँ गरी कुल ६६ खर्ब ९५ अर्ब १५ करोड (कारोबारमा आधारित) तरलता प्रशोचन गरेको केन्द्रीय बैंकद्वारा जारी प्रतिवदेनमा उल्लेख गरिएको छ ।

बैंकले गत वर्षको सोही अवधिमा ओभरनाइट तरलता सुविधा र स्थायी तरलता सुविधा लगायतका उपकरणहरुमार्फत खुद ३ खर्ब ६२ अर्ब ३६ करोड तरलता प्रवाह गरेको थियो ।

समीक्षा अवधिमा यस बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरु) बाट अमेरिकी डलर ८३ करोड ४७ लाख खुद खरिद गरी १ खर्ब ११ अर्ब ९७ करोड रुपैयाँ तरलता प्रवाह गरेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर ७७ करोड ७८ लाख खुद खरिद गरी १ खर्ब २ अर्ब ८७ करोड रुपैयाँ तरलता प्रवाह भएको थियो ।