
बैंकिङ खबर/ बढ्दो मोवाइल बैंकिङ कारोबारसँगै पछिल्लो समय नगद प्रवाह घटेको छ भने दशैंको समयमा पनि बैंकहरु सुनसान हुन थालेका छन् । दशैंको बेलामा भिडभाड हुने बैंकहरु मोवाइल बैंकिङ लगायत डिजिटल कारोबारका कारण सेवाग्राहीको भिड घटेको हो ।
मोबाइल बैंकिङ प्रयोगकर्ता बढ्दो
राष्ट्र बैंकको तथ्यांकअनुसार गत साउनसम्म मोबाइल बैंकिङ प्रयोगकर्ताको खाता संख्या २ करोड ४९ लाख ६१ हजार नाघेको छ । जसबाट ४ करोड ७४ लाख ६० हजार हाराहारी पटक कारोबार भएको छ । यस्तै, कनेक्ट आईपीएसका प्रयोगकर्ता १२ लाख ९९ हजार प्रयोगकर्ता पुगेका छन् । यसबाहेक, क्यूआर कोडमार्फत ट्रान्जेक्सन, इन्टरनेट बैंकिङ, वालेटलगायतका डिजिटलहरूका प्रयोगकर्ताहरू बढ्ने क्रममा छन् । सोही अनुसार कारोबार पनि बढिरहेको केन्द्रीय बैंकको तथ्यांकमा देखिन्छ ।
नगद कारोबार घट्यो

बढ्दो डिजिटल कारोबारसँगै नगर कारोबार पनि घट्न पुगेको छ । चालु आर्थिक वर्षको भदौमा बजारमा क्यास सर्कुलेशन (नगद प्रवाह) केहीँ घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत असार मसान्तको तुलनामा पछिल्लो भदौमा क्यास सर्कुलेशन १४ अर्ब ७१ करोड ७८ लाख रुपैयाँले घट्न पुगेको थियो ।
२०८१ असार मसान्तमा बजारमा कूल नगद प्रवाह ६ खर्ब ८० अर्ब ४ करोड ८८ लाख रुपैयाँ रहेको थियो । तर, पछिल्लो भदौ मसान्तसम्ममा उक्त नगद प्रवाह घटेर ६ खर्ब ६५ अर्ब ३३ करोड ९ लाख रुपैयाँमा झरेको हो । यसको मतलब पछिल्लो दुई महिनामा बजारबाट १४ अर्ब बढी नगद केन्द्रीय बैंक फर्किएको छ ।
राष्ट्र बैंकका अनुसार डिजिटल कारोबारलाई प्रोत्साहन गरेका कारणले पनि नगद कारोबार तुलनात्मक रूपमा कम हुन गएको हो । पछिल्लो समय क्यूआर (क्विक रेस्पोन्स)कोडमार्फत ट्रान्जेक्सन गतवर्षको भन्दा १०८ प्रतिशतले बढेको छ । बैंकिङ प्रणालीमा कारोबार गर्ने शैली डिजिटाइज हुँदै गएको छ । यसकारण पछिल्लो समय चलनचल्तीमा नोटहरू कम हुनुको एउटा कारण विद्युतीय कारोबारको भूमिका पनि ठूलो भएर हो ।
सुकिला नोट सटहीमा देखिएन आकर्षण

नेपाल राष्ट्र बैंकले दशैँका लागि सुकिला नोट सटहीको व्यवस्था गरेकोमा आकर्षण कम देखिएको छ । विगतमा नयाँ नोट भन्ने बित्तिकै लाइन लागेर लिनेको भिड हुँदै आएकोमा सुकिला नोटमा पहिलो दिन कम मात्रले सटही सुविधा लिएको मुद्रा व्यवस्थापन विभागले जनाएको छ । सुकिला नोट अन्य बैंक तथा वित्तीय संस्थाले पनि दिइरहेका छन् ।
नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, बैंकिङ विभाग र विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज तथा धनगढीस्थित कार्यालयबाट सुकिलो नोट साटिरहेको छ । एकजनाले र पाँच, दश, बीस, पचास र एक सय दरका १८ हजार पाँच सयसम्म साट्न पाउनेछन् ।
दशैंमा पनि सुनसान बैंकहरु
बढ्दो डिजिटल बैंकिङसँगै विगतका वर्षहरुमा भिडभाड हुने बैंकहरु यस वर्ष भने सुनसान देखिएको छ । बैंकहरूले आफ्ना सेवाग्राहीलाई दिने सेवा सुविधा परिष्कृत गर्दै बैंकिङलाई आधुनिक प्रविधिको प्रयोग गरेर विभिन्न डिजिटल माध्यमबाट सुविधा प्रदान गरिरहेका छन्। जसकारण पनि भौतिक रुपमा बैंकमा उपस्थित हुने सेवाग्राहीको संख्या घट्दै गएको छ ।
अहिले घरबाटै डिजिटल बैंकिङका सेवाहरु सजिलै लिन सकिन्छ। एउटा खाताबाट अर्को कुनै खातामा रकम जम्मा गर्न, विभिन्न बिलहरु भुक्तानी गर्न, आफ्नो खाताको कारोबार विवरण हेर्न, खातामा रहेको रकम हेर्न आदि कामहरु सहज रुपमा डिजिटल बैंकिबाट गर्न सकिने हुनाले पनि बैंकमा भिडभाडहरु घटेको बैंकका कर्मचारीहरु बताउँछन् ।
डिजिटल बैंकिङका फाइदाहरु
१. घरमै बसेर अनलाइन मार्फत देश, विदेशबाट डिजिटल भुक्तानी प्राप्त गर्न सक्नुहुन्छ ।
२. इन्टरनेट बैंकिङको सहयोगमा चेक बुक र एटीएम कार्ड को लागी आवेदन दिन सक्नुहुन्छ । बैंकमा धाइरहनु पर्दैन ।
३. तपाईले घरमै बसेर आफ्नो खाताको रकम जाँच गर्न सक्नुहुन्छ ।
४. यदि तपाई एक व्यापारी हुनुहुन्छ भने क्यु आर कोड मार्फत ग्राहक मार्फत भुक्तानी प्राप्त गर्न सक्नुहुन्छ ।
५. तपाईले आफ्नो मोबाइलबाट पसल, शपिङमल, होटल आदिमा अनलाइन भुक्तानी गर्न सक्नुहुन्छ ।
यसको प्रयोग सुरक्षित छ, ह्याक हुने सम्भावना छ
यो एक महत्वपूर्ण प्रश्न हो जुन सबैको चासोको विषय बनेको छ । के यसको प्रयोग सुरक्षित छ रु के यसलाई ह्याक गर्न सकिन्छ रु जवाफ– यसको प्रयोग सुरक्षित छ । डिजिटल बैंकिंग प्रणाली ह्याक गर्न कठिन छ । तर यदि हामी यसको प्रयोगमा लापरवाह गर्छौ भने नोक्सान पनि हुन सक्छ । हाम्रो डिजिटल अकाउन्ट सुरक्षित राख्नका लागि केहि महत्वपूर्ण बिषयहरुमा ध्यान दिन आवश्यक हुन्छ ।
१. आफ्नो डेबिट कार्ड नम्बर, म्याद सकिने मिति, इन्टरनेट बैंकिङसँग सम्बन्धित आईडी र पासवर्ड कसैसग सेयर नगर्नुहोस् ।
२. बैंकहरुले कहिल्यै पनी ग्राहकहरुलाई खातासँंग सम्बन्धित कुनै जानकारी सोध्न फोन गर्दैनन् । त्यसैले फोन मार्फत कसैले खाताका बारेमा सोधखोज गरेमा कुनै जानकारी नदिई सम्बन्धित निकायमा तुरुन्त सम्पर्क गर्नुहोस् ।
डिजिटल हुनुको अर्थ के हो र ?
आम सर्वसाधारणका लागि डिजिटल बन्नुको अर्थ हो । नगद लेनदेनबाट बचेर अनलाइन (मोबाइल, डेबिट कार्ड आदि) लेनदेन को उपयोग गर्नु, कागजी कामलाई कम गर्नु । सरकारी तथा बैंकिङ कार्यका साथै व्यापारिक गतिविधिमा पारदर्शिता आउनु । जालसाजी ठगी र घूसखोरी आदि बाट बच्नु ।
डिजिटल बैंकिङको सहज प्रयोगमा मोबाइल बैंकिंङ
मोबाइल आज हरेक मानिसहरुको आवश्यकता हो र यो सबैको पहुँचमा समेत छ । मानिसहरु आफ्नो सबै काम मोबाइलबाट नै गर्न सहज मान्छन् । यसै कारणले धेरै जसो मानिसहरु आजकल मोबाइल बैंकिङको अधिक उपयोग गर्छन् । मोबाइल बैंकिङ एक यस्तो प्रणाली हो जसको माध्यमबाट मानिसहरु आफ्नो फोनको माध्यमबाट सबै बैंकिङ सुविधाहरुको लाभ उठाउन सक्छन् । मोबाइल बैंकिङ भविष्यमा पनि अधिक सुविधाजनक र सजिलो हुने अपेक्षा गर्न सकिन्छ ।
डिजिटल बैंकिङ लोकप्रिय बनाउनका लागि के गर्ने ?
डिजिटल प्रयोग देशको विकास अत्यावश्यक छ । यसका लागि बैंकको महत्वपूर्ण योगदान छ । किनभने बैंक अर्थव्यवस्थाको जग हो । यो एक महत्वपूर्ण सुरुवात हो । यसको प्रयोगबाट पारदर्शिता, सबै क्षेत्रमा सेवाको सहज र सरल पहुँच र अर्थव्यवस्थालाई नगदरहित हुन सक्छ ।
यस्तै, डिजिटल बैंकिङ लोकप्रिय बनाउनका लागि वित्तीय साक्षरतामा जोड दिन आवश्यक छ । यसका लागि र्बैक क्षेत्रमा समेत आपसी सहयोगको आवश्यक्ता छ । अर्थात गाउँ गाउँमा वित्तीय साक्षरताको स्तरमा सुधार गर्न सकियोस् । विशेषगरी दुर दराज क्षेत्रमा हुने डिजिटल बैंकिङको विस्तारमा सहयोग मिल्न सकोस् ।




