बैंकिङ खबर/ नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर डा.नीलम ढुंगाना तिम्सिनाले पछिल्लो समय डिजिटल बैंकिङसँगै वित्तीय साक्षरताको महत्व झन् बढ्दै गएको बताएकी छन् । मिडिया इन्टरनेशनल नेपालले काठमाडौंमा आयोजना गरेको वित्तीय शिक्षा र उद्यमशीलता अन्तर्गत ‘फाइनान्सियल लिट्रेसी, विजनेश एण्ड लिडरसीप समिट’ कार्यक्रममा डेपुटी गभर्नर तिम्सिनाले भनिन्, ‘पछिल्लो समय डिजिटल बैंकिङमा गइ सकेपछि अनलाइन सिस्टमहरु आएका छन् । क्युआर कोर्डको प्रयोग बढ्दो छ । घरमै बसेका धेरै बैंकिङ सेवाहरु पाउन सकिन्छ । त्यसैपनि पनि वित्तीय साक्षरता बढेको छ ।’
उनले वित्तीय साक्षरताको अभावकै कारण ऋणीहरुमा कर्जा तिर्दिन भन्ने प्रवृत्ति बढेको पनि बताइन् । ‘यदि कर्जा लिएपछि नतिर्दा के हुन्छ ?, कर्जा तिर्नुपर्छ भन्ने खालको वित्तीय साक्षरता नहुँदा समस्या देखिएको हो । कर्जा नतिर्दा ऋण दिनेले पनि कसरी दिन्छ ?, जनताबाटै कर्जा उठाएर बैंकवित्तले ऋण दिने हो । तिरेन भने सबै सिस्टम कोल्याप्स हुन्छ ।’
यस्तै डेपुटी गभर्नर ढुंगानाले वित्तीय साक्षरता अभिवृद्धिका लागि सबैको साथ र सहयोग आवश्यक पर्ने पनि बताइन् ।
उनले भनिन्, ‘वित्तीय साक्षरता अभिवृद्धि गर्नका लागि राष्ट्र बैंक अहोरात्र प्रयासमा छ । राष्ट्र बैंकले बैंक वित्तीय संस्थाहरुलाई आफ्नो मुनाफाबाट सामाजिक उत्तरदायित्वमा खर्च गर्नु भनेको छ । त्यसैबाट वित्तीय साक्षरतामा पनि खर्च गर्नु भनेको छ ।’ वित्तीय साक्षरतालाई पाठ्यक्रममा समावेश गर्नुपर्ने उनले बताइन् ।
डेपुटी गभर्नर ढुंगानाले बढ्दो डिजिटल बैंकिङसँगै वित्तीय साक्षरताको महत्व पनि झन् बढ्दै गएको बताइन् । यस्तै उनले साना–साना ऋण लिएर आयस्तर उठाउनका लागि लघुवित्तीय संस्थाहरुले महत्वपूर्ण भूमिका खेलेको बताइन् । उनले आफुले लिएको ऋणलाई उत्पादनशिल क्षेत्रमा प्रयोग गर्न आग्रह गरिन् । उनले भनिन्, ‘लुघवित्त वित्तीय संस्थाका ९६ प्रतिशत ऋणीहरु महिला हुनुहुन्छ । त्यसकारण महिलाहरुलाई ऋण लिनका लागि त्यति असुविधा छ जस्तो लाग्दैन । कतिपय कुरामा ज्ञान पुगि राखेको छैन ।’
महिला उद्यमीहरुलाई राष्ट्र बैंकले प्रोत्साहन गर्ने खालका नीतिहरु ल्याएको पनि उनले बताइन् । उनले अहिले बैंकहरुमा कर्जा प्रवाहमा प्रतिस्पर्धा भएको भन्दै बुझेर मात्र ऋण लिन आग्रह गरिन् ।
कार्यक्रममा लघुवित्त बैंकर्स संघका अध्यक्ष रामबहादुर यादवले उद्यमशिलता र वित्तीय साक्षरता एक अर्काका परिपूरक रहेको बताए । ग्रामीण क्षेत्र, दुरदराजमा उद्यमशिलता विकास गर्न, वित्तीय पहुँचको अभिवृद्धि गर्न लघुवित्त क्षेत्रको अहम् भूमिका खेलेको बताए । उनले भने, ‘लघुवित्त संस्थाहरु देशको ६० लाख घर परिवारमा पुगेको अवस्था छ । ६० लाख घरपरिवारमध्ये २७ लाख दिदी बहिनीहरुले त्यसबाट कर्जा पाएर उद्यमशिलताका काम अगाडि बढाइरहेको अवस्था छ ।’
लघुवित्त संस्थाहरुले महिलाको उद्यमशिलता, वित्तीय साक्षरता, वित्तीय स्रोत उपलव्ध जुन कार्यक्रम ल्याएको छ । यस कार्यक्रमलाई नेपाल सरकारले महत्व दिएर एउटा छुट्टै म्याकेनिजम बनाएर अगाडि बढ्नुपर्ने अध्यक्ष यादवले बताए । यस्तै उनले देशमा रोजगारी सिर्जना गर्न, युवाहरुलाई देशमै राखेर काम गर्न उद्यमशिलताको विकल्प नभएको बताए ।
वरिष्ठ उद्यमी शोभाकान्त बस्यालले नेपालमा केही सीप लिएर उद्यमशिलता शुरु गर्न सक्यौ भने त्यो सफल हुने बताए । देशका विभिन्न स्थानहरुमा संस्थाहरुले चलाएका सीपमूलक तालिमहरु अपूरा खालको रहेको भन्दै अपुरो ज्ञान, सीपले गरेको काम सफल हुन नसक्ने बताए ।
यस्तै उनले पछिल्लो समय महिलाहरुमा उद्यमशिलता वृद्धि भएको बताए । उनले भने, ‘आजभन्दा ३० वर्षअघि उद्यमशिलतामा महिलाको सहभागी न्यून थियो । १० वर्षमा अलि बढेर आयो । ५ वर्षपछि अझ बढेर आएको छ । अहिले हेर्दा धेरै बढेर माथि पुग्नुभएको छ ।’
उपकार लघुवित्त वित्तीय संस्थाकी सिईओ शारदा कुमारी खत्रीले उद्यमशिलता अत्यन्त महत्वपूर्ण विषय भएको भन्दै एउटा पक्षले मात्र गरेर सफल हुन नसक्ने बताइन् । लघु उद्यमशिलताका लागि स्वयं व्यक्तिमा आत्म विश्वास, उर्जा, हिक्मत भएमात्र यसको शुरुवात हुने बताइन् ।
यस्तै उनले पारिवारिक बजेट बनाउन समेत आग्रह गरिन् । उनले भनिन्, ‘आजका दिनमा हामीले पारिवारिक बजेट बनाउँदैनौं । जेठ १५ आयो भने नेपाल सरकारले बजेट ल्याउँछ भनेर सुन्छौं, हेछौं । तर आफ्नो जिन्दगी चलाउने बजेट हामीले कसैले बनाउँदैनौं । पहिला हामिले आफ्नो बजेट बनाऔं ।’
महिला उद्यमी एवम् एनआएसी लघुवित्तकी उषा कार्कीले बैंकवित्तको ब्याजदर पछिल्लो समय घट्दो क्रममा रहेको भन्दै अझै थप घटेमा व्यवसाय गर्न सहज हुने बताइन् । उनले नेपालमा साच्चिकै उद्यमशिल बन्ने हो भने काम गर्नका लागि विदेश जानु पर्ने बाध्यता हट्ने बताइन् ।
कार्यक्रमका संयोजक एवम् मिडिया इन्टरनेशनलका अध्यक्ष माधव निर्दोषले हामीसँग थुप्रै सम्भावनाहरु रहेको भन्दै ति सम्भावनालाई व्यवहारमा रुपान्तरण गर्न सक्नुपर्ने बताए । उनले उद्यमशिलतामा लाग्ने व्यक्तिहरुलाई हौसला दिनका लागि यो कार्यक्रमको शुभारम्भ गरिएको बताए । उनले भने, ‘आजदेखि यो कार्यक्रमलाई हामीले गाउँ–गाउँसम्म लैजानेछौं । स्थानीय निकाय, उद्यमीसँग जोडरे अगाडि बढ्नेछौं ।’उनले वित्तीय साक्षरतासँगै उद्यमशिलता अत्यन्त महत्वपूर्ण र जरुरी रहेको बताए ।
उक्त समारोहमा उद्यमशीलताको क्षेत्रबाट मुलुकलाई र समाजलाई योगदान पु¥याउने विभिन्न उद्यमीहरूलाई सम्मानित गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा. ढुंगाना तिम्सिनाले उनीहरुलाई सम्मानित गरेकी थिइन् ।
सम्मानित हुनेहरूमा उद्यमी गीता भुसाल, सगरमाथा आरोही कल्पना महर्जन, पर्यावरण विज्ञ लक्ष्मण गुरुङ, पर्यटन व्यवसायी प्रमिला पाण्डे, कृषि स्मार्ट टेक्नोलोजी विज्ञ राजन गैरे, उद्यमी शोभाकान्त बस्याल, उद्यमी आदित्य शिवाकोटी, उद्यमी देवीमाया आचार्य, सहकारी टेक्नोलोजी विज्ञ गणेशकुमार घिमिरे रहेका छन् । समाजलाई आर्थिक रुपबाट पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै उनीहरूलाई उक्त सम्मान प्रदान गरिएको हो।