September 26th, 2024

मुद्रास्फीति गणनाको जिम्मेवारीबाट राष्ट्र बैंक मुक्त हुन चाहन्छः गभर्नर अधिकारी

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उपभोक्ता मूल्य संकलन गरेर मुद्रास्फीति गणनाको जिम्मेवारीबाट राष्ट्र बैंक मुक्त हुन चाहेको बताएका छन्।

केन्द्रीय बैंकले तयार पारेको नेपाल जीवनस्तर सर्वेक्षण (चौथो) को आधारमा उपभोक्ता मूल्य सूचकांक आधार वर्ष २०८०÷८१ र शोधानान्तर स्थितिको नयाँ गणना विधि सार्वजनिक गर्दै गभर्नरले भने,‘धेरै चुनौतीको बाबजुद राष्ट्र बैंक टिमले उपभोक्ता मूल्य सूचकांकको नयाँ आधार वर्ष र शोधानान्तर स्थितिको नयाँ गणना विधि तयार गर्यो।

केन्द्रीय बैंकको कोर कामको रुपमा रहेको मूल्य स्थिरताको विषयमा राष्ट्र बैंक आफै नीति बनाउँछ, आफैँ लक्ष्य राख्छ, आफैँ मूल्य संकलन गर्छ, आफैँ वस्तु निर्धारण गर्छ । उनले थपे, ’२०४१÷४२ सालमा मैले राष्ट्र बैंकमा जागिर शुरु गर्दा पारिवारिक बजेट सर्वेक्षण चलिरहेको थियो। त्यसका लागि ११ सय कर्मचारीमात्रै अस्थायी नियुक्ति लिइएको थियो।’

राष्ट्र बैंकले केन्द्रीय तथ्यांक कार्यालयले गरेको सर्वेलाई टेकेर काम गरिरहेको उनको भनाइ छ। नयाँ आधार वर्षका धेरै आँकडा तथ्यांक विभागमै निर्भर भएको उनले बताए।

’नेपाल जीवनस्तर सर्वेक्षणलाई आधार बनाएर २०८०÷०८१ लाई मुद्रास्फीति गणनाको नयाँ आधार वर्ष बनाएर राष्ट्र बैंक अघि बढेको छ। आधारको सन्दर्भमा हामी स्वतन्त्र बाटोतर्फ गइरहेका छौं। औपचारिक तथा अनौपचारिक रुपमा हामीले सरकारी निकायलाई यो काम सरकारलाई नै गर्न आग्रह गरेका छौं। धेरै सकारात्मक कुरा भएको छ,’ उनले भने।