September 23rd, 2024

सुनचाँदी धितोः एक महिनामै बैंकले दिए १ अर्ब ७३ करोड कर्जा

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकका अनुसार एक महिनाको अवधिमा सुनचाँदी धितो राखेर ऋण लिने बढेका छन् । राष्ट्र बैंकका अनुसार एक महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट १ अर्ब ७३ करोड रुपैयाँबराबरको कर्जा लगेका छन्।

गत असार मसान्तसम्म सुनचाँदी धितोबापत ५८ अर्ब ४८ करोड रुपैयाँ कर्जा प्रवाह भएको थियो। साउनमा आउँदा यस्तो कर्जा ६० अर्ब २१ करोड रुपैयाँ पुगेको छ । केन्द्रीय बैंकका अनुसार आर्थिक वर्ष २०७७/७८ मा ४३ अर्ब ११ करोड रुपैयाँबराबरको सुन धितो राखेर ऋणीले कर्जा लगेका थिए भने आव २०७८/७९ मा ५२ अर्ब ७८ करोड रुपैयाँ कर्जा लगेका थिए। त्यसयता आव २०७९/८० मा ५५ अर्ब ५३ करोड रुपैयाँ ऋण लगेका ऋणीले गत आव २०८०/८१ मा ५८ अर्ब ४८ करोड रुपैयाँ सुन धितो राखेर कर्जा लगेका हुन्। साउन महिनामा यस्तो कर्जा २.९ प्रतिशतले बढेर ६० अर्ब २१ करोड रुपैयाँमा पुगेको छ।

अहिले वाणिज्य बैंकहरुले ९.६८ प्रतिशत औसत ब्याजदरमा कर्जा दिँदै आएका छन्। गत वर्ष सोही अवधिमा ऋणीले यसरी कर्जा लिँदा औसतमा १२.२४ प्रतिशतसम्मको ब्याज तिर्नुपरेको थियो। राष्ट्र बैंकका अनुसार साउन महिनामा कुल ६० अर्ब २१ करोड रुपैयाँ सुन धितो राखेर कर्जा प्रवाह हुँदा वाणिज्य बैंकहरुबाट ५५ अर्ब ५४ करोड रुपैयाँ, विकास बैंकहरुबाट १ अर्ब ६५ करोड रुपैयाँ, फाइनान्स कम्पनीहरुबाट ३ अर्ब ९७ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ।

सबैभन्दा धेरै नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, एनआईएमबी बैंक र प्राइम बैंकले सुनचाँदी धितोमा ऋण दिँदा स्ट्यान्डर्ड चार्टर्ड, हिमालयन, नेपाल एसबीआई, एभरेस्ट र ग्लोबल आईएमई बैंकले धितोमा कर्जा प्रवाह गरेका छैनन्।
राष्ट्र बैंकका अनुसार नेपाल बैंकले साउन महिनासम्म २३ अर्ब ३८ करोड रुपैयाँ सुन धितोमा कर्जा प्रवाह गरेको छ भने राष्ट्रिय वाणिज्य बैंकले २० अर्ब ७१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

प्राइम बैंकले ६ अर्ब ९८ करोड रुपैयाँ कर्जा प्रवाह गर्दा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले १ अर्ब १८ करोड, लक्ष्मी सनराइज बैंकले ६८ करोड रुपैयाँ सुनचाँदी धितोमा कर्जा प्रवाह गरेको छ। नबिलले ५१ करोड, एनआईसी एसियाले ३ करोड, माछापुच्छ्रेले १२ करोड, कुमारीले २५ लाख, सिद्धार्थले १ करोड, कृषि विकास बैंकले १ करोड, सिटिजन्सले ७० करोड, प्रभु बैंकले ७ करोड, सानिमा बैंकले ८ लाख र एनएमबी बैंकले ६ लाख रुपैयाँबराबरको कर्जा प्रवाह गरेका छन्।