September 20th, 2024

बैंकहरुले मुद्दति निक्षेपमा प्रदान गर्ने ब्याजदर ३.८४ प्रतिशतले घट्यो

बैंकिङ खबर/ वाणिज्य बैंकहरुले मुद्दति निक्षेपमा प्रदान गर्ने ब्याजदर औसत १०.२२ प्रतिशतबाट घटेर ६.३८ प्रतिशत कायम भएको छ । अवधिमा १ वर्ष अगाडिको तुलनामा ब्याजदर ३.८४ प्रतिशत विन्दुले घटेको हो ।

बैंकहरुले मुद्दतिमा प्रदान गर्ने औसत ब्याजदर असोज महिनामा ६.३८ कायम भएको छ । गत असोजमा मुद्दतिमा प्राप्त हुने ब्याजदर १०.२२ प्रतिशत थियो । त्यसपछिका महिना भने उक्त दर लगातार जस्तो घटेको हो । गत असोजमा १०.२२ प्रतिशत रहेको बैंक ब्याजदर कात्तिकमा ९.९६ प्रतिशत, मंसिरमा ९.६३, पुस ८.९९, माघ ८.१७ प्रतिशतमा झरेको थियो ।

गत फागुनमा ७.७६, चैतमा ७.२५, वैशाखमा ७.०६ प्रतिशत कायम भएको थियो । जेठ महिनामा बैंकहरुको औसत ७ प्रतिशत रहेको मुद्दतिको ब्याजदर त्यसयता, ७ प्रतिशतभन्दा तल नै रहेको छ।

पछिल्लो समय बैंकहरुसँग तरलता थुप्रिएको छ । जसले गर्दा राष्ट्र बैंकले पनि अरबौं रकम बजारबाट खिचेको छ । अहिले बैंक वित्तीय संस्थाहरुको २ खर्ब ७६ अर्ब ८० करोड रुपैयाँ राष्ट्र बैंकमा जम्मा भएको छ । तर, बैंकहरुमा कर्जाको माग भने खासै बढेको देखिँदैन ।