September 11th, 2024

थप कर्जा प्रवाह गर्न अग्राधिकार सेयर जारी गर्दै बैंकहरु

बैंकिङ खबर/ बैंक तथा वित्तीय संस्थामा पर्याप्त तरलता भए पनि केही बैंकहरुको प्राथमिक पुँजी कोष तोकिएको भन्दा कम हुँदा थप कर्जा प्रवाह गर्न सकेका छैनन् । पुँजी कोषमा दबाब रहेका बैंकहरुलाई अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्न सक्ने राष्ट्र बैंकले व्यवस्था गरेको छ ।

प्राथमिक पुँजी कोष कम भएर दबाबमा रहेका केही बैंक तथा वित्तीय संस्थाले धमाधम अविमोच्य असञ्चिति अग्राधिकार सेयर (पर्पेचुअल नन क्युमलेटिभ प्रिफेन्सियल सेयर) जारी गर्ने प्रक्रिया अघि बढाएका छन् । नबिल, एनएमबि, एनआइसी एसिया, कामना सेवा विकास बैंकहरुले सेयर निष्कासन प्रक्रिया अघि बढाएका छन् ।

नबिल बैंकको भदौ १७ गते सोमबार सम्पन्न विशेष साधारण सभाले अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ । बैंकले ‘नबिल ८% अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ जारी गर्न लागेको हो । बैंकले १ सय रुपैयाँ दरका ५ करोड इकाई अर्थात् ५ अर्ब बराबरको ८ प्रतिशत लाभांश दर कायम गरी अग्राधिकार सेयर जारी गर्नेछ । जुन मुनाफा भएको वर्ष मात्र मुनाफा वितरण हुने र सेयरको रकम फिर्ता नहुने प्रकृतिको अग्राधिकार सेयर हो। साधारण सभाबाट पारित भएसँगै अब बैंकले राष्ट्र बैंकमा सेयर निष्कासनका लागि आवेदन दिनुपर्ने हुन्छ । राष्ट्र बैंकको स्वीकृति पाएपछि सेयर जारी गर्नेछ ।

त्यस्तै एनएमबी बैंकले ३ अर्ब रुपैयाँ बराबरको अग्राधिकार सेयर जारी गर्ने भएको छ । बैंकको भदौ १४ गते बसेको सञ्चालक समिति बैठकले राष्ट्र बैंकको स्वीकृति लिएर १ सय रुपैयाँ दरले ३ करोड इकाई अविमोच्य असञ्चित अग्राधिकार सेयर जारी गर्ने निर्णय गरेको छ । यस्तो अग्राधिकार सेयरका लगानीकार्तालाई ८.२५ प्रतिशत लाभांश पूर्वनिश्चित गरिएको बैंकले जनाएको छ।

एनआइसी एसिया बैंकले नेपाल राष्ट्र बैंकसँग १ सय रुपैयाँ दरका ५ करोड इकाई अर्थात् ५ अर्ब रुपैयाँ बराबरको प्रिफरेन्सियल (अग्राधिकार) सेयर जारी गर्ने जनाएको थियो । बैंकले वार्षिक ८.५ प्रतिशत प्रतिफल दिने प्रस्ताव पनि गरेको थियो । तर, अहिले बैंकले राष्ट्र बैंकमा बुझाएको प्रस्ताव फिर्ता गरेको छ ।
अब एनआइसी एसियाले पनि विशेष साधारण सभा गराएर अग्राधिकार सेयर निष्कासनको प्रस्ताव पारित गरी पुनःराष्ट्र बैंकमा निवेदन दिनुपर्नेछ ।

यसैगरी, कामना सेवा विकास बैंकले पनि अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने भएको छ । बैंक सञ्चालक समिति बैठकले १ सय रुपैयाँका दरले ३५ लाख इकाई अर्थात ३५ करोड रुपैयाँ बराबरको ९ प्रतिशत लाभांश दर कायम गरी अग्राधिकार सेयर जारी गर्ने निर्णय गरिसकेको छ । बैंकले पनि साधारण सभाबाट पारित गराएर राष्ट्र बैंकमा आवेदन दिनुपर्ने हुन्छ ।

यस अघि एभरेष्ट बैंक र कृषि विकास बैंकले मात्र अग्राधिकार सेयर जारी गरेका छन् । एभरेष्ट बैंकको ७ प्रतिशत कन्भर्टेबल सेयर थियो । अहिले सो सेयर सर्वसाधारणमा परिवर्तन भइसकेको छ । त्यस्तै, कृषि विकास बैंकको ५ अर्ब ४३ करोड बराबरको अग्राधिकार सेयर रहेको छ ।