September 7th, 2024

बैंकहरुको कर्जा दिने क्षमतामा सुधार

बैंकिङ खबर/ बैंकहरूको ऋण दिने क्षमतामा क्रमिक रुपमा सुधार आएको छ । बैंकहरूको पुँजी पर्याप्तता अनुपात (पुँजी कोष) मा परेको दबाब कम हुँदै गएकाले उनीहरूको ऋण प्रवाह क्षमतामा सुधार भएको हो ।

करिब ६ महिना अघिसम्म आधा दर्जनभन्दा बढी बैंक पुँजी कोषको दबाबमा थिए । अहिले उनीहरू पनि सहज अवस्थामा रहेको राष्ट्र बैंकको आर्थिक वर्ष ०८०/८१ को प्रतिवेदनले उल्लेख गरेको छ ।

पुँजी पर्याप्तता अनुपात (पुँजी कोष) बैंकहरूले ऋण प्रवाह गर्दा आफू (बैंक) ले हाल्ने रकम हो । हालको व्यवस्थाअनुसार वाणिज्य बैंकहरूले एक सय रुपैयाँ कर्जा प्रवाह गर्दा न्यूनतम ११ प्रतिशत बैंकका तर्फबाट र बाँकी ८९ प्रतिशत बचतकर्ताको निक्षेपबाट हाल्नुपर्छ । बैंकले हाल्ने ११ प्रतिशतलाई पुँजी पर्याप्तता अनुपात (क्यापिटल एडुकेसी रेसियो– सीएआर) भनिन्छ । प्राथमिक पुँजी र पूरक पुँजी गरी यसलाई पनि दुई वर्गमा विभाजन गरिन्छ ।

प्राथमिकमा मुख्यगरी चुक्ता पुँजी र नाफाको केही अंश मात्र जोडिन्छ भने ऋणपत्रलगायत अन्य स्रोतबाट संकलन भएको पुँजी पूरक हो । जोखिम सम्पत्तिको तुलनामा वाणिज्य बैंकहरूले न्यूनतम ८.५ प्रतिशत प्राथमिक पुँजी कायम गर्नुपर्ने राष्ट्र बैंकको निर्देशन छ ।

प्राथमिक पुँजी जति कम हुन्छ, त्यति बैंकहरूको ऋण दिन सक्ने क्षमता कमजोर हुन्छ । गत चैतसम्म ५ वटा बैंकको प्राथमिक पुँजी ९ प्रतिशतभन्दा कम थियो । असारसम्म आइपुग्दा दुईवटा बैंकको प्राथमिक पुँजी मात्र ९ प्रतिशतभन्दा कम छ । बाँकी सबैको त्योभन्दा धेरै रहेकाले बैंकहरूको कर्जा प्रवाह क्षमतामा सुधार भएको हो ।

नीतिगत सहजतासँगै खराब कर्जाबापत नोक्सानी व्यवस्था घटेको, नाफा र कर्जा असुली बढेको लगायत कारण बैंकहरूको पुँजी कोषमा परेको दबाब कम भएकाले कर्जा प्रवाह क्षमता बढेको नेपाल बैंकर्स संघले जनाएको छ।

अघिल्लो वर्षको तुलनामा गत वर्ष बैंकहरूको खराब कर्जा पनि केही घटेको देखिन्छ । गत असारसम्म बैंकहरूको खराब कर्जा औसत ३.७६ प्रतिशत छ । गत आर्थिक वर्षको चैतसम्म खराब कर्जा ३.८९ प्रतिशत थियो ।

सो अवधिमा बैंकहरूका आधार दर पनि घटेको छ । गत असारमा बैंकहरूको आधार दर औसत ८.०१ प्रतिशत छ । सोही आर्थिक वर्षको चैतमा यस्तो दर ८.५६ प्रतिशत थियो ।

आधार दरमा कमी आएसँगै बैंकहरूको ऋणको ब्याजदर पनि निरन्तर घटिरहेको छ । तर कर्जा माग अपेक्षित रूपमा बढ्न नसक्दा प्रणालीमा धेरै ऋण दिनमिल्ने रकम थुप्रिएको छ । जसअनुसार भदौ १३ सम्म बैंक तथा वित्तीय संस्थामा करिब सवा सात खर्ब रुपैयाँ ऋण दिन मिल्ने रकम थुप्रिएको छ । गत असार मसान्तमा बैंकहरूसँग यस्तो रकम करिब ८ खर्ब थियो ।