September 1st, 2024

बैंक तथा वित्तीय संस्थामा तरलता बढेको छः गभर्नर

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यसवर्ष अर्थतन्त्र सकारात्मक तवरले अगाडि बढ्ने बताएका छन् । आइतबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २६औं साधारणसभाका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले राज्य र केन्द्रीय बैंकले लिएका नीतिले बजारमा सकारात्मक प्रभाव देखिन थालेको बताए ।

अर्थतन्त्रका सूचकांक सकारात्मक रहेको भन्दै भने राज्यले समेत सकारात्मक पहल गरिरहेको उनले बताए । अर्थतन्त्र सकारात्मक दिशामा रहेको देखाउने एउटा आधार अटो शो रहेको समेत उनले बताए । यो वर्ष लचिलो मौद्रिक नीति आएको भन्दै यो निजी क्षेत्रको मनोबल उठाउन महत्त्वपूर्ण हुने उनको भनाइ छ ।

गभर्नर अधिकारीले भने, ‘बाह्य क्षेत्र सहज छ । मुद्रास्फीति घटेको छ । बैंक तथा वित्तीय संस्थामा तरलता बढेको छ । अटोमोबाइल र पुँजीबजारलगायत क्षेत्र चलायमान हुँदै गएको छ,’ गभर्नर अधिकारीले भने, ‘चालु आर्थिक वर्षबाट नयाँ ढङ्गले अर्थतन्त्र चलायमान हुन्छ । हाम्रो प्रणालीमा के–के समस्या छ भनेर हेरेर त्यसलाई नीतिगत रुपमा समाधान गर्दै जाने छौँ ।’