बैंकिङ खबर/ के तपाई गाडी किन्ने सोंचमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने यी बैंकले सस्तो व्याजदरमै कर्जा दिँदै आएका छन् । वाणिज्य बैंकहरुले एकल अंकको ब्याजदरमै गाडी किन्ने कर्जा दिन थालेछन् ।
बैंकहरुले कर्जा दिँदा स्थिर र अस्थिर गरि दुई प्रकारको दिने गरेका छन् । स्थिर ब्याजदर जति समयका लागि लिएको हो त्यही समयसम्म परिवर्तन हुँदैन ।
अस्थिर ब्याज भने बैंकको आधारदर घटबढ हुँदा कर्जाको ब्याजदर पनि घटबढ हुने गर्छ ।
पछिल्लो समय बैंकहरुले विद्युतीय गाडीमा दिने कर्जा अन्यको भन्दा केही कम दरमा दिने गरेका छन् । ब्याजमा प्रतिस्पर्धामा रहेका बैंकहरुमध्ये राष्ट्रिय वाणिज्य बैंकले दसैंका लागि अफर समेत ल्याएको छ ।
कुन बैंकको कति व्याजदर ?
राष्ट्रिय वाणिज्य बैंक
राष्ट्रिय वाणिज्य बैंकले नजिकिँदै गरेको चाडपर्वलाई ध्यानमा राखेर एक योजना सार्वजनिक गरेको छ । ‘फेस्टिभ अफर अफ भेइकल लोन’ अन्तर्गत बैंकले ७.७७ प्रतिशत स्थिर ब्याजदरमा गाडी कर्जा योजना ल्याएको हो ।
मासिक किस्ताबन्दीमा कर्जा भुक्तानी गर्ने गरी बैंकले अधिकतम एक करोड रुपैंयासम्म कर्जा लगानी गर्ने जनाइएको छ । कर्जा रकमको ०.५० प्रतिशत सेवा शुल्क लाग्ने बैंकले जनाएको छ ।
गाडीको कोटेसनमा अंकित मूल्यको विद्युतीय गाडी (इभी) को हकमा बढीमा ८० प्रतिशत र पेट्रोलरडिजेल गाडीको हकमा बढीमा ५० प्रतिशतसम्म बैंकले कर्जा लगानी गर्ने छ । बढीमा ७ वर्षसम्म कर्जा अवधि दिइने यो योजना भदौ १ देखि कात्तिक मसान्तसम्म मात्र लागु हुने बैंकले जनाएको छ ।
यो योजनाअन्तर्गत कर्जा लिएका ग्राहकको कर्जा अवधिभरि ब्याजदर परिवर्तन हुने छैन । निवेदन दिएको ७ कार्य दिनभित्रमा निर्णय दिने यस योजनामा गाडी कर्जासम्बन्धी अन्य प्रचलित नियमहरू आकर्षित हुने बैंकले स्पष्ट पारेको छ । यो कर्जा बैंकका सम्पूर्ण शाखा कार्यालयहरूबाट लिन सकिने बैंकले जनाएको छ ।
लक्ष्मी सनराइज बैंक
लक्ष्मी सनराइज बैंकबाट फिक्स अवधिका लागि ८.९९ देखि ११.९९ प्रतिशतसम्म ब्याज लाग्ने छ । यस्तो कर्जा बैंकले १५ वर्षसम्मका लागि दिने जनाएको छ । असार मसान्तसम्म बैंकको आधारदर ८.७० प्रतिशत रहेको छ । बैंकबाट अटो लोन लिँदा आधारदरमा १ देखि ३ प्रतिशतसम्म प्रिमियम थप गर्नुपर्ने छ ।
माछापुच्छ्रे बैंक
माछापुच्छ्रे बैंक बैंकबाट स्पेसिफिक कर्जा लिँदा आधादरमा ०.५० देखि २.५० प्रतिशतसम्म ब्याज लाग्ने छ । यस्तै नर्मलमा आधारदरमा १ देखि ३ प्रतिशत प्रिमियम थप हुनेछ । कमर्सियल सवारीमा स्पेसिफिक तर्फ ०.५ देखि २.५० र नर्मलमा २ देखि ४ प्रतिशत प्रिमियम थपिने छ । असार मसान्तसम्म बैंकको आधारदर ८.१३ प्रतिशत रहेको छ । बैंकबाट ५ वर्षका लागि स्थिर ब्याजदरमा कर्जा लिने हो भने १० प्रतिशत, ५ देखि १० वर्षका लागि ११ प्रतिशत ब्याजमा कर्जा पाइने छ ।
ग्लोबल आइएमई बैंक
ग्लोबल आइएमई बैंक बैंकबाट ५ वर्षसम्मका लागि गाडी कर्जा लिँदा स्थिर तर्फ १०.४९ देखि ११.४९ प्रतिशत ब्याज लाग्ने छ । यस्तै ५ वर्षभन्दा बढी अवधिको लागि ११.९९ देखि १२.९९ प्रतिशत ब्याज लाग्ने छ । बैंकको अस्थिर ब्याजदर अटो तर्फ आधारदरमा ३.५० प्रतिशत थप रहेको छ । असार मसान्तसम्म बैंकको आधारदर ८.०९ प्रतिशत रहेको छ ।
कुमारी बैंक
कुमार बैंकबाट सवारी साधान कर्जा दिँदा १२.३९ प्रतिशतसम्म ब्याज लाग्ने छ । असार मसान्तसम्म बैंकको आधारदर ८.८९ प्रतिशत रहेको छ । बैंकबाट कमर्सियल हायर पर्चेज लोन लिँदा आधारदरमा २.५० देखि ३.५० प्रतिशतसम्म प्रिमियम थप्नुपर्ने छ । यस्तै व्यक्तिगत अटो लोन लिँदा आधारदरमा १ देखि ३ प्रतिशतसम्म प्रिमियम थप्नुपर्ने छ ।
सिद्धार्थ बैंक
सिद्धार्थ बैंकबाट ५ वर्षसम्मका लागि स्थिर अटो लोन लिँदा १०.७५ प्रतिशत ब्याज तिर्नुपर्छ भने ५ वर्षदेखि बढी अवधिका लागि लिएको कर्जामा ११.२५ प्रतिशत ब्याज तिर्नुपर्छ । अस्थिर ब्याजदर तर्फ अटो लोन लिँदा आधादरमा ३ प्रतिशत प्रिमियम थपिने छ । यस्तै व्यवसायीक प्रयोजनका लागि आधारदरमा ३.२५ प्रिमियम थपिने छ । असार मसान्तसम्म बैंकको आधारदर ८.११ प्रतिशत छ ।
सिटिजन्स बैंक
सिटिजन्स बैंकबाट स्थिर अटो कर्जा लिँदा ५ वर्षसम्मका लागि व्यक्तिगत तर्फ १०.५० प्रतिशत, ६ देखि १० वर्षका लागि ११ प्रतिशत ब्याज लाग्नेछ । व्यवसायीक प्रयोजनका लागि ५ वर्षसम्मको कर्जा लिँदा ११ प्रतिशत ब्याज लागने छ ।
असार मसान्तस बैंकको आधारदर ८.२६ प्रतिशत रहेको छ । बैंकबाट कर्जा लिँदा व्यक्तिगत तर्फ आधारदरमा ३ र व्यवसायीक प्रयोजनका लागि आधारदरमा ४ प्रतिशत प्रिमियम थपिन्छ ।
नबिल बैंक
नबिल बैंकको साउन मसान्तसम्म आधारदर ७.६३ प्रतिशत रहेको छ । बैंकबाट अटो लोन लिँदा प्राइभेटमा आधार दरमा २ देखि ४ प्रतिशत प्रिमियम तिर्नुपर्छ । कमर्सियलमा आधार दरमा ३ देखि ४ प्रतिशत प्रिमियम थप्नुपर्छ ।
विद्युतीय गाडीमा प्राइभेटतर्फ आधारदरमा १ देखि ३ प्रतिशत र कमर्सियलमा आधारदरमा ३ देखि ४ प्रतिशत प्रिमियम थप्नुपर्छ। बैंकबाट ५ वर्षसम्मका लागि प्राइम लोन लिँदा १२ र स्टयान्डर्ड कर्जा लिँदा १२.२५ प्रतिशत ब्याज लाग्छ । ५ देखि १० वर्षका लागि फिक्स कर्जा लिँदा प्राइम तर्फ १२.२५ र स्टयान्डर्ड तर्फ १२.५० प्रतिशत रहेको छ । १० वर्षदेखि बढी अवधिका लागि प्राइम तर्फको कर्जामा १२.५० र स्टयान्डर्डमा १२.७५ प्रतिशत ब्याज रहेको छ ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकबाट व्यक्तिगत रुपमा गाडी कर्जा लिँदा आधार दरमा २ देखि ४ प्रतिशत प्रिमियम थप्नुपर्छ । व्यवसायीक कर्जा लिँदा आधारमा २.५० देखि ४.५० प्रतिशत प्रिमियम थप्नुपर्छ । विद्युतीय गाडीका लागि कर्जा लिँदा आधारमा १ देखि ३ प्रतिशत प्रिमियम थप्नुपर्छ । साउन मसान्तसम्म बैंकको आधारदर ७.८२ प्रतिशत रहेको छ ।
एनएमबि बैंक
एनएमबि बैंकबाट ५ वर्षसम्मका लागि एनएमबि सुलभ अटो लोन (इलेक्ट्रिक) लिँदा १०.१० प्रतिशत र ७ वर्षसम्मका लागि अटो इलेक्ट्रिक कर्जा लिँदा ८.९९ प्रतिशत ब्याज लाग्ने छ ।
इन्टर्नल कम्बुस्चन इन्जिन (आइसीई) तर्फ व्यक्तिगत कर्जा लिँदा आधार दरमा १ देखि ३ र व्यवसायीक प्रयोजनका लागि २.५ देखि ४.५ प्रतिशत ब्याज लाग्ने छ ।
यस्तै विद्युतीय गाडीमा व्यक्तिगततर्फ ०.५ देखि २.५ र व्यवसायीक तर्फ २ देखि ४ प्रतिशत आधारदरमा थपिने छ । साउन मसान्तसम्म बैंकको आधारदर ७.४२ प्रतिशत रहेको छ ।
हिमालयन बैंक
हिमालयन बैंकबाट फिक्स रेटमा ७ वर्षसम्मका लागि कर्जा लिँदा ११ प्रतिशतमा ऋण पाइन्छ । बैंकबाट ७ वर्षसम्मका लागि कमर्सियल हायर पर्चेज कर्जा लिँदा ११.५० प्रतिशत ब्याज लाग्ने छ ।
नेपाल एसबिआई बैंक
नेपाल एसबिआई बैंकले अटो कर्जा लिनेका लागि तीन प्रकारको स्थिर व्याजको व्यवस्था गरेको छ । बैंकबाट ३ वर्षसम्मको कर्जा लिँदा १२.५० प्रतिशत, ३ देखि ५ वर्षका लागि कर्जा लिँदा १३ र ५ देखि १० वर्षका लागि अटो कर्जा लिँदा १३ प्रतिशत ब्याज लिने जनाएको छ ।
बैंकबाट व्यक्तिगत प्रयोजनका लागि विद्युतीय गाडीका लागि आधादरमा ०.२५ देखि २.२५ सम्म, व्यक्तिगत प्रयोजनका लागि इन्धनवाला गाडीका लागि ०.५० देखि २.५० प्रतिशतसम्म ब्याज लिने जनाएको छ ।
कार्यालय प्रयोजनका लागि विद्युतीय गाडीमा आधादरमा ०.२५ देखि २.२५ सम्म, कार्यालय प्रयोजनका लागि इन्धनवाला गाडीका लागि ०.५० देखि २.५० प्रतिशतसम्म, ब्यवसायीक प्रयोजनका लागि इभीमा आधार दरमा १ देखि ३ र ब्यवसायीक प्रयोजनका लागि इन्धनवाला गाडीमा आधारदरमा १ देखि ३ प्रतिशत ब्याज थपिने बैंकले जनाएको छ । असार मसान्तसम्म बैंकको आधारदर ८.१२ प्रतिशत रहेको छ ।
प्रभु बैंक
प्रभु बैंकबाट ५ वर्षसम्मका लागि अटो लोन लिँदा ९.५० र ५ वर्षदेखि बढी अवधिका लागि कर्जा लिदा ११.५० प्रतिशत ब्याज लाग्ने छ । यस्तै बैंकबाट ५ वर्षसम्मका लागि अटो लोन लिँदा २ देखि ४ र ५ देखि ८ वर्ष अवधिका लागि कर्जा लिँदा आधार दरमा २.५० देखि ४.५० प्रतिशत प्रिमियम थप्नु पर्ने छ । असार मसान्तसम्म बैंकको आधारदर ८.०२ प्रतिशत रहेको छ ।
सानिमा बैंक
सानिमा बैंकबाट व्यक्तिगत अटो कर्जा लिँदा आधादरमा १.५० देखि ३.५० प्रतिशतसम्म प्रिमियम थप्नुपर्छ । यस्तै व्यावसायीक प्रयोजनका लागि कर्जा लिँदा पनि आधारदरमा १.५० देखि ३.५० प्रतिशतसम्म ब्याज तिर्नुपर्छ । साउन मसान्तसम्म बैंकको आधादर ७.५८ प्रतिशत छ ।