August 20th, 2024

१ खर्ब निक्षेप संकलनका लागि दोब्बर आवेदन


बैंकिङ खबर/ अधिक तरलताको समस्या जटिल बन्दै गएपछि केन्द्रीय बैंकले वित्तीय प्रणालीबाट १ खर्ब रुपैयाँ खिचेको छ । केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत् २१ दिनका लागि १ खर्ब रुपैयाँ खिचेको हो ।

केन्द्रीय बैंकले अल्पकालीन ब्याजदर तथा तरलता व्यवस्थापनका लागि स्थायी निक्षेप सुविधा र निक्षेप संकलनमार्फत् प्रणालीको तरलता खिच्ने गरेको छ । निक्षेप संकलनको ब्याजदर ब्याजदर करिडोरको तल्लो सीमा अर्थात ३ प्रतिशत तोकिएको छ ।

निक्षेप संकलनको ब्याजदर ३ प्रतिशतको सीमा कायम गर्न यस्तो उपकरण जारी गर्छ । वित्तीय प्रणालीमा अधिक तरलता भएपछि अन्तरबैंक ब्याजदर करिडोरको तल्लो सीमाभन्दा कम भएपछि राष्ट्र बैंकले निक्षेप संकलनमार्फत् तरलता खिचेको हो ।

बैंक तथा वित्तीय संस्थाले अधिक तरलता भएको खण्डमा ३ प्रतिशत ब्याजदरमा सीधै केन्द्रीय बैंकमा राख्न सक्छन । तर, यसको अवधि छोटो हुन्छ । केन्द्रीय बैंकले साताको ३ दिन अर्थात् आइतबार, मंगलबार र बिहीबार स्थायी निक्षेप सुविधा प्रदान गर्छ । स्थायी निक्षेपमार्फत् तरलता व्यवस्थापन नभएपछि केन्द्रीय बैंकले आइतबार निक्षेप संकलन उपकरण प्रयोग गरेको हो ।

आइतबार केन्द्रीय बैंकले जारी गरेको १ खर्बको निक्षेप संकलनका लागि २५ आवेदकले ५५ वटा आवेदनमार्फत् १ खर्ब ९६ अर्ब २५ करोड रुपैयाँको आवेदन दिएका थिए । सोमध्येबाट केन्द्रीय बैंकले थोरै ब्याजदर बोल गर्नेलाई प्राथमिकतामा राखेर बाँडफाँट गरेको छ ।

केन्द्रीय बैंकले जारी गरेको आइतबारको निक्षेप संकलनको ब्याजदर चालु आर्थिक वर्ष सुरु भएयताकै न्यून हो । चालु आर्थिक वर्षमा केन्द्रीय बैंकले कुल ६ पटक निक्षेप संकलन गरेकामा आइतबारको निक्षेप संकलनको ब्याजदर सबैभन्दा न्यून छ ।

यसअघिका निक्षेप संकलनमा बैंक तथा वित्तीय संस्थाले अधिकतम ३ प्रतिशत माग गरेकामा आइतबारको निक्षेप संकलनको अधिकतम ब्याजदर २.९७५० प्रतिशत मात्र माग गरेका छन् ।

त्यसैगरी, न्यूनतम बोल भएको ब्याजदर २.८ प्रतिशत छ । आइतबारको निक्षेप संकलनको औसत ब्याजदर २.८८३३ प्रतिशत कायम भएको छ । यसअघिका निक्षेप संकलनको औसत ब्याजदर २.९९९ कायम भएको केन्द्रीय बैंकले जनाएको छ ।