बैंकिङ खबर/ बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा २ खर्ब ७६ अर्ब ९४ करोड कर्जा प्रवाह भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेकाे तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८०/८१ मा बैंक तथा वित्तीय संस्थाहरूले साे रकम बराबरकाे कर्जा प्रवाह गरेका हुन् । जुन अघिल्लो वर्ष २०७९/८० को भन्दा ५.८ प्रतिशत मात्रै बढी हो ।
निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ५.८ प्रतिशतले, विकास बैंकहरुको कर्जा प्रवाह ५.० प्रतिशतले र वित्त कम्पनीहरुको ७.७ प्रतिशतले बढेको छ । २०८१ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये ६६.५ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १३.२ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । २०८० असार मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६८.० प्रतिशत र ११.६ प्रतिशत रहेको थियो ।
समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३.३ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६२.७ प्रतिशत र ३७.३ प्रतिशत रहेको थियो ।
आर्थिक वर्ष २०८०/८१ मा बैंक तथा वित्तीय संस्थाहरुको कृषि क्षेत्रतर्फको कर्जा ०.९ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ८.८ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १६.७ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा १.५ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ६.२ प्रतिशतले बढेको छ ।
समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित आवधिक कर्जा २२.२ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ९.६ प्रतिशतले, मार्जिन प्रकृति कर्जा १८.१ प्रतिशतले र ट्रष्ट रिसिट (आयात) कर्जा १२.६ प्रतिशतले बढेको छ भने हायर पर्चेज कर्जा २२.० प्रतिशतले, ओभरड्राफ्ट कर्जा ४६.३ प्रतिशतलेर डिमान्ड तथा चालु पुँजी कर्जा १७.६ प्रतिशतले घटेको छ ।