नेपाली सेयर बजारमा हाल देखिइरहेको गिरावटप्रति नेपाल स्टक एक्सचेन्ज (नेप्से)को ध्यानाकर्षण भएको छ । आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेप्सेले विशेषतः बीमा समूह र लघुवित्त कम्पनीहरुको धितोपत्रको मूल्यमा आएको गिरावटले सेयर बजारलाई घटाएको बताएको छ । ‘हालसालैको ह्रासमा खासगरी बीमा समूह तथा लघुवित्त कम्पनीहरुको धितोपत्रको मूल्यमा आएको ह्रास प्रमुख कारक तत्त्व रहेको छ । त्यसैगरी, बैंकिङ समूह, वित्त समूह तथा विकास बैंक समूहका कम्पनीहरुको सेयर मूल्यमा आएको गिरावटले परिसूचकहरुमा प्रभाव परेको देखिन्छ,’ नेप्सेद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
नेप्सेले सेयर लगानीकर्तालाई हतोत्साहित नहुन पनि आग्रह गरेको छ । ‘सूचिकृत कम्पनीहरुले हकप्रद एवम् बोनस सेयर वितरणका लागि सेयरधनी दर्ता किताब बन्द गर्ने, वार्षिक साधारणसभा बोलाउने, सेयरधनी बन्द गरेपछि सेयर कारोबारका लागि कारोबार सीमा खुल्ला गर्दा सूचिकृत कम्पनीहरुको सेयरमूल्य घट्न जान्छ । तर, समग्र अर्थतन्त्रमा तरलताको स्थिती सन्तोषप्रद रहेको हुँदा वित्तीय क्षेत्रको प्रभुत्व रहेको यस बजारका लगानीकर्ता हतोत्साहित हुनुपर्ने अवस्था छैन ।’ विज्ञप्तिमा उल्लेख छ ।