बैंकिङ खबर/ गत आर्थिक वर्षमा विकास बैंकहरूको औषत निष्क्रिय कर्जा ३.५९ प्रतिशत रहेको छ । यो अघिल्लो आवमा २.५९ प्रतिशत रहेको निष्क्रिय कर्जा बढेर ३.५९ प्रतिशत पुगेको हो ।
विकास बैंकहरूलाई थुप्रिएको निष्क्रिय कर्जा घटाउन चुनौती बढेको छ । गत आवमा वाणिज्य बैंकहरूले जस्तै विकास बैंकहरूले पनि निष्क्रिय कर्जा घटाउन सकेका छैनन् ।
राष्ट्रिय स्तरका ८ वटा विकास बैंकमध्ये निष्क्रिय कर्जा सबैभन्दा धेरै हुनेमा ज्योति विकास बैंक छ । गत आवमा यस बैंकको निष्क्रिय कर्जा ४.९५ प्रतिशत पुगेको छ । अघिल्लो आवमा निष्क्रिय कर्जा ३.४३ प्रतिशतमात्रै थियो ।
महालक्ष्मी विकास बैंकको निष्क्रिय कर्जा गत आवमा ४.५८ प्रतिशत पुगेको छ । अघिल्लो आवमा यस बैंकको निष्क्रिय कर्जा ३.५१ प्रतिशत थियो । सांग्रिला डेभलपमेन्ट बैंकको निष्क्रिय कर्जा अघिल्लो आवमा ३.१६ प्रतिशतमात्रै रहेकोमा गत आवमा बढेर ४.०८ प्रतिशत पुगेको छ । शाइन रेसुंगाको अघिल्लो आवमा १.८१ प्रतिशत रहेकोमा गत आवमा बढेर ३.४३ प्रतिशत पुगेको छ ।
लुम्बिनी विकास बैंकको निष्क्रिय कर्जा गत आवमा ३.२९ प्रतिशत पुगेको छ । अघिल्लो आवमा भने यस बैंकको निष्क्रिय कर्जा ३.०१ प्रतिशत थियो । गत आवमा कामना सेवा विकास बैंकको निष्क्रिय कर्जा ३.२१ प्रतिशत पुगेको छ । अघिल्लो आवमा यस बैंकको निष्क्रिय कर्जा ३.०९ प्रतिशत थियो । गरिमा विकास बैंकको निष्क्रिय कर्जा अघिल्लो आवमा १.७ प्रतिशत रहेकोमा गत आवमा २.८९ प्रतिशत पुगेको छ ।
मुक्तिनाथ विकास बैंकको अघिल्लो आवमा ०.९८ प्रतिशत रहेको निष्क्रिय कर्जा गत आवमा बढेर २.२६ प्रतिशत पुगेको छ । यद्यपि, गत आवमा सबैभन्दा कम निष्क्रिय कर्जा हुने मुक्तिनाथ विकास बैंक हो ।
निष्क्रिय कर्जा घटाउन नसकेका विकास बैंकहरूको लाभांश क्षमता भने अब्बल छ । आठ राष्ट्रिय स्तरका विकास बैंकमध्ये सातवटा लाभांश दिन सक्ने अवस्थामा छन् । ज्योति विकास बैंकले भने वितरणयोग्य नाफा ऋणात्मक रहेकाले लाभांश बाँड्न सक्दैन ।
बाँकी सात विकास बैंकमध्ये सबैभन्दा अब्बल कामना सेवा छ । यस बैंकको लाभांश क्षमता अर्थात् प्रतिसेयर वितरणयोग्य नाफा १०.९१ प्रतिशत छ । सञ्चालनमा रहेका अरु ७ राष्ट्रियस्तरका विकास बैंक र १७ वटा वाणिज्य बैंकको भन्दा यो बढी हो ।
विकास बैंकहरुमध्ये लाभांश क्षमतामा कामना सेवापछि गरिमा विकास बैंक छ । गरिमाले गत आवको वितरणयोग्य नाफाबाट १०.५२ प्रतिशत लाभांश दिन सक्छ । लाभांश क्षमताको सूचीमा कामना सेवा र गरिमापछि शाइन रेसुंगा छ ।
यस बैंकको लाभांश क्षमता ८.१२ प्रतिशत छ । यस्तै, लुम्बिनी विकास बैंकको लाभांश क्षमता ७.४ प्रतिशत हुँदा सांग्रिलाको ५.१८ प्रतिशत, मुक्तिनाथको ४.७१ प्रतिशत र महालक्ष्मी विकास बैंकको ४.२५ प्रतिशत छ ।