बैंकिङ खबर/ आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड केन्द्रीय कार्यालय बनेपाको आयोजनामा धितो मूल्यांंकन तथा परियोजना विश्लेषण सम्बन्धी तालिम शुरु भएको छ ।
कोशी र मधेश प्रदेशमा कार्यरत ३६ जना शाखा प्रमुख तथा प्रदेशमा कार्यरत प्रदेश प्रमुख र कार्यक्रम अधिकृतको लागि कोशी प्रदेशको इटहरीमा २ दिने तालिम शुरु भएको हो ।
होटल त्रियुगामा साउन २२ र २३ गते हुने तालिमको प्रमुख अतिथि संस्थाका प्रमुख कार्यकारी अधिकृत शिव प्रसाद ज्ञवालीले उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा सामान्य सेवा सिवभाग प्रमुख ख्यामकान्त अर्याल, कर्जा विभाग प्रमुख टोप बहादुर रास्कोटी, सूचना प्रविधि विभागका अधिकृत राम प्रसाद पौडेल र इन्जिनियर आमोद राज आचार्य अतिथि रहेका थिए ।
उद्घाटन कार्यक्रममा कोशी प्रदेश प्रमुख विजय कुमार पासवानले सम्पुर्ण अतिथि तथा सहभागीहरुलाई स्वागत मन्तव्य राखेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि ज्ञवालीले सहभागीहरुलाई तालिम अवधिभर भरपुर ज्ञान लिएर शाखामा गइ गुणस्तरीय लघुउद्यम व्यावसाय कर्जा वृद्धि गर्न निर्देशन दिए ।
विगतमा कर्जा विश्लेषण गलत भएकोले लगानी भएका कर्जा असुलीमा समस्या आएको बताउँदै उनले अब लगानी हुने कर्जाहरु शतप्रतिशत असुली ग्यारेन्टी हुनुपर्ने बताए । उद्घाटन कार्यक्रमको सञ्चालन लेखा विभागीय प्रमुख मनरुपा पौडेलले गरेकी थिइन् ।
तालिमका प्रमुख प्रशिक्षकहरुमा कर्जा विभाग प्रमुख टोप बहादुर रास्कोटी, सामान्य सेवा विभाग प्रमुख ख्यामकान्त अर्याल, लेखा विभाग प्रमुख मनरुपा पौडेल, इन्जिनीयर आमोद राज आचार्य रहेका छन् ।
आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको ६ प्रदेश, ५३ जिल्लाहरुमा १३५ शाखा कार्यालयहरु, ६ प्रदेश कार्यालय र केन्द्रीय कार्यालय गरी १४२ कार्यालय सञ्जाल मार्फत संस्थाले लघुवित्त सेवा प्रदान गर्दै आइ रहेको छ ।
संस्थाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने गरिब, विपन्न परिवारका महिलाहरुलाई समूहमा आवद्ध गराइ विना धितोमा तथा धितो कर्जा लगानी गर्नुका साथै व्यावसायिक सीपमूलक तालिम, वित्तीय साक्षरता तालिम कार्यक्रमहरु सञ्चालन गर्दै ग्राहक सदस्यहरुको आर्थिक, सामाजिक, बौद्धिक विकास गर्दै आइ रहेको छ । २०८१ असार मसान्तसम्म ९९हजार सदस्य, ३५ हजार ऋणीमार्फत १ अर्व ५८ करोड बचत संकलन गरी ४ अर्ब २५ करोड कर्जा लगानी गरेको छ ।