August 5th, 2024

वाणिज्य बैंकहरुको रिपोर्ट : कुन बैंकको अवस्था कस्तो ?, विस्तृतमा हेर्नुहोस्

बैंकिङ खबर/ गत आर्थिक वर्ष २०८०/०८१ मा सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले गत आवको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । जसअनुसार चौथो त्रैमाससम्म बैंकहरुको खुद नाफा ६४ अर्ब १५ करोड ३० लाख रुपैयाँ रहेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.४० प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा बैंकहरुले ५६ अर्ब ५७ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएका थिए।

कुन बैंकको अवस्था कस्तो ?

नबिल बैंक

नबिल बैंकले गएको आर्थिक वर्षमा सात अर्ब छ करोड रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । बैंकले सार्वजनिक गरेको गत आवको अपरिष्कृत वित्तीय विवरणअनुसार खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको हो । बैंकले यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.२३ प्रतिशतले खुद नाफा बढाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले छ अर्ब ४० करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

नविलको खुद ब्याज आम्दानीमा सामान्य गिरावट आएको छ । तर इम्पेरमेन्ट चार्ज घटेका कारण खुद नाफा बढ्न पुगेको हो । बैंकको खुद ब्याज आम्दानी ८.६९ प्रतिशतले घटेको हो । तर खुद फि तथा कमिशन आम्दानी १२.०४ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ६.०२ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ६.५१ प्रतिशत बढेको छ । त्यस्तै, खराब कर्जा १.१८ प्रतिशतबाट घटेर १.०७ प्रतिशतमा झरेको छ ।

यससँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ । गएको आवमा नविलको यस्तो आम्दानी दुई रुपैयाँ ४२ पैसा बढेर २६ रुपैयाँ ९ पैसा पुगेको छ । गएको असार मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ २२० रुपियाँ १६ पैसा र मूल्य आम्दानी अनुपात २०.०८ गुणा रहेको छ।

सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा भने तीन अर्ब ८५ करोड रुपैयाँ रहेको छ। जगेडा कोषमा साढे ३२ अर्बभन्दा बढी रकम रहेको नविलको चुक्ता पुँजी २७ अर्ब पाँच करोड रुपैयाँ छ । बैंकको निक्षेप गत आवमा १६.४४ प्रतिशत बढेको छ भने कर्जा १२.९४ प्रतिशत बढेको छ ।

ग्लोबल आइएमई बैंक

यस बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य घटेको छ। गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ६ अर्ब १ करोड रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.१३ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ६ अर्ब ६९ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी सामान्य घटेको र इम्पेरमेन्ट चार्ज बढेका कारण बैंकको खुद नाफा घट्न पुगेको हो।
समीक्षा अवधीमा बैंकको खुद ब्याज आम्दानी २.७४ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी २९.९० प्रतिशत बढेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी २.९६ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ८.२५ प्रतिशत घटेको छ। समीक्षा अवधिमा बैंकको खराब कर्जा ३.१५ प्रतिशतबाट बढेर ४.३७ प्रतिशत पुगेको छ। जसका कारण बैंकको इम्पेरमेन्ट चार्ज ३ अर्ब ७४ करोड पुगेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २ रुपैयाँ ६ पैसा घटेर १६ रुपैयाँ ६५ पैसामा झरेको छ। असार मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १६९ रुपैयाँ ८१ पैसा र मूल्य आम्दानी अनुपात ११.६६ गुणा रहेको छ। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा भने १ अर्ब १० करोड रुपैयाँ रहेको छ।

३६ अर्ब १२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २४ अर्ब ८५ करोड रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा बैंकको निक्षेप १४.३४ प्रतिशत बढेको छ भने कर्जा ४.२३ प्रतिशत बढेको छ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक

यस बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म खुद नाफा बढेको छ। गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ५ अर्ब १९ करोड ८३ लाख रुपैयाँ खुद नाफा कमाएको हो ।

यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३९.७१ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब ७२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। खुद ब्याज आम्दानी बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो।

बैंकको खुद ब्याज आम्दानी २२.०२ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ११.१७ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी १९.६५ प्रतिशत र सञ्चालन मुनाफा २१.६२ प्रतिशत बढेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ४ रुपैयाँ ३३ पैसा बढेर १५ रुपैयाँ २३ पैसा पुगेको छ। असार मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १८० रुपैयाँ र मूल्य आम्दानी अनुपात ११.५ गुणा रहेको छ। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा भने ३ अर्ब ४३ करोड रुपैयाँ ऋणात्मक रहेको छ।

३४ अर्ब १२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २७ अर्ब १३ करोड रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा बैंकको निक्षेप १३.८३ प्रतिशत बढेको छ भने कर्जा १.५४ प्रतिशत मात्र बढेको छ।

माछापुच्छ्रे बैंक

यस बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य घटेको छ। गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले १ अर्ब २५ करोड रुपैयाँ खुद नाफा कमाएको छ।

यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २३.०९ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ६२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी र गैर सञ्चालन आम्दानी घटेका कारण बैंकको खुद नाफा सामान्य घट्न पुगेको हो।
समीक्षा अवधीमा बैंकको खुद ब्याज आम्दानी ६.७६ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ४.९३ प्रतिशत घटेको छ।

त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ७.११ प्रतिशत र सञ्चालन मुनाफा १७.९७ प्रतिशत घटेको छ। समीक्षा अवधिमा बैंकको खराब कर्जा ०.८६ प्रतिशतबाट बढेर १.५६ प्रतिशत पुगेको छ। यद्यपि बैंकको इम्पेरमेन्ट चार्ज घटेर १ अर्ब ७ करोडमा सीमित भएको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ५ रुपैयाँ ९ पैसा घटेर १० रुपैयाँ ७६ पैसामा झरेको छ। असार मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १४८ रुपैयाँ ८० पैसा र मूल्य आम्दानी अनुपात १८.५९ गुणा रहेको छ। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा भने ४६ करोड ६४ लाख रुपैयाँ रहेको छ।

११ अर्ब ६२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ५ अर्ब ६७ करोड रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा बैंकको निक्षेप २.४४ प्रतिशत बढेको छ भने कर्जा ०.७७ प्रतिशत मात्र बढेको छ।

प्रभु बैंक

प्रभु बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ४ अर्ब ४८ करोड रुपैयाँ खुद नाफा कमाएको छ। यो हाल प्रकाशित वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १४९९.०४ प्रतिशत बढी हो।

बैंकको अघिल्लो आर्थिक वर्ष (आर्थिक वर्ष २०७९/८०) को खुद नाफा २८ करोड मात्र उल्लेख छ। जबकी गत आर्थिक वर्ष प्रकाशित अघिल्लो आर्थिक वर्ष (आर्थिक वर्ष २०७९/८०) को वित्तीय विवरण अनुसार बैंकले सो आर्थिक वर्षको अन्त्यसम्ममा २ अर्ब २५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

गत आर्थिक वर्ष प्रकाशित विवरण अनुसार अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको इम्पेरमेन्ट चार्ज २ अर्ब ४३ करोड रुपैयाँ थियो। तर आज प्रकाशित विवरण अनुसार सो आर्थिक वर्षमा बैंकको इम्पेरमेन्ट चार्ज ५ अर्ब २१ करोड रुपैयाँ रहेको छ। जसका कारण हाल प्रकाशित वित्तीय विवरण बैंकको खुद नाफामा उल्लेख्य वृद्धि देखिएको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १९.४३ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी १९.९६ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा २०.६७ प्रतिशत बढेको छ।

हाल प्रकाशित विवरण अनुसार बैंकको प्रतिशेयर आम्दानी पनि उल्लेख्य बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १७ रुपैयाँ ८४ पैसा बढेको छ। असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब २२ करोड रुपैयाँ रहेको छ।

२३ अर्ब ५४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १२ अर्ब ८९ करोड रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा बैंकको निक्षेप ५.५१ प्रतिशत बढेको छ भने कर्जा ३.८३ प्रतिशत घटेको छ।

प्राइम कमर्सियल बैंक

प्राइम कमर्सियल बैंक लिमिटेड (एऋद्यी) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा र प्रतिशेयर आम्दानी दुबै अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ३ अर्ब ७७ करोड रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २६७.१९ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब २ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी सामान्य बढेपनि इम्पेरमेन्ट चार्ज घटेका कारण बैंकको खुद नाफा उल्लेख्य बढ्न पुगेको हो। समीक्षा अवधीमा बैंकको खुद ब्याज आम्दानी १२.१६ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ३१.४५ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी १५.५३ प्रतिशत र सञ्चालन मुनाफा १७७.३१ प्रतिशत बढेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १४ रुपैयाँ १५ पैसा बढेर १९ रुपैयाँ ४५ पैसा पुगेको छ। असार मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १५९ रुपैयाँ ४१ पैसा र मूल्य आम्दानी अनुपात ११.४० गुणा रहेको छ।

सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा भने १ अर्ब १९ करोड रुपैयाँ र वितरणयोग्य प्रतिशेयर आम्दानी ६ रुपैयाँ १८ पैसा रहेको छ। १९ अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ११ अर्ब ५२ करोड रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा बैंकको निक्षेप २१.३६ प्रतिशत बढेको छ भने कर्जा १८.५८ प्रतिशत बढेको छ।

कृषि विकास बैंक

कृषि विकास बैंकले आर्थिक वर्ष २०८० ८१ मा महत्वपूर्ण वित्तीय सूचकहरुमा उत्साहजनक प्रगति गरेको छ । बैंकले प्रतिकूल समयका बाबजुद व्यापार विस्तारमा इण्डष्टीको औसत ग्रोथको तुलनामा उल्लेख्य प्रगति गर्दै समीक्षा अवधिका लागि १७.३७ प्रतिशतको लाभांश क्षमता बनाएको हो । यो अघिल्लो आर्थिक वर्षको तुलनामा निकै राम्रो हो । अघिल्लो आर्थिक वर्षको यही अवधिमा बैंकको लाभांश क्षमता ९.२४ प्रतिशतमा सीमित थियो ।

समीक्षा अवधिमा बैंकले २ अर्ब ६६ करोड बढी वितरणयोग्य मुनाफा आर्जन गर्न सफल भएको छ । यो भनेको अघिल्लो वर्षको तुलनामा ११४.१९ प्रतिशतको बढोत्तरी हो ।

यो अवधिमा खूद नाफा ३ अर्ब ६५ करोड रुपैयाँभन्दा माथि पुगेको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकको खूद नाफा खुम्चिएर १ अर्ब ३२ करोडमा सीमित थियो । यसरी खूद नाफातर्फ बैंकले १७६ प्रतिशतको छलाङ मारेको छ ।

अघिल्लो वर्ष ७.४२ प्रतिशतमा सीमित प्रतिसेयर आम्दानी २३३.५५ प्रतिशतले वृद्धि भई २४.७५ रुपैयाँको उचाईमा पुगेको छ ।

बैंकको सञ्चालन मुनाफातर्फ पनि उस्तै बढोत्तरी भएको छ । अघिल्लो वर्षको तुलनामा ७० प्रतिशतको बढोत्तरी हुँदै सञ्चालन मुनाफा ५ अर्ब २९ करोड माथि पुगेको छ ।

विषम परिस्थितिमा पनि कृषि विकास बैंकले व्यवसाय विस्तारमा ध्यान दिएका कारण खूद ब्याज आम्दानीतर्फ पनि आकर्षक वृद्धि भएको छ । फलस्वरुप अघिल्लो वर्ष ८ अर्ब १९ करोड रुपैयाँ रहेको यस्तो आम्दानी बढेर समीक्षा वर्ष १० अर्ब १२ करोड माथि पुगेको छ ।

समीक्षा अवधिसम्म बैंकको निक्षेप संकलन २ खर्ब ४३ अर्ब ५८ करोड पुगेको छ । यो भनेको अघिल्लो वर्षको तुलनामा २२ प्रतिशतले बढी हो । उद्योगको औसत वृद्धिदरभन्दा डिपोजिटमा झण्डै दोब्बरको बढोत्तरी देखिएको छ ।

समीक्षा अवधिसम्म बैंकले २ खर्ब १ अर्ब ७६ करोड बढी कर्जा परिचालन गरेको छ । कर्जातर्फ बैंकले अघिल्लो वर्षको तुलनामा झण्डै १३ प्रतिशतको ग्रोथ गरेको देखिन्छ । यो भनेको पनि उद्योगको औसतभन्दा झण्डै दोब्बर हो ।

बैंकले अघिल्लो वर्ष यही अवधिसम्म सम्भावित जोखिम व्यवस्थापनका लागि १ अर्ब ४५ करोड रुपैयाँ प्रभिजन गर्नुपरेकोमा यो वर्ष घटेर १ अर्ब २३ करोडमा सीमित भएको छ । यसले समेत बैंकको नाफा बढाउन सहयोग पुगेको देखिन्छ ।

अघिल्लो वर्ष २.७८ प्रतिशतमा रहेको बैंकको खराब कर्जा अनुपात बढेर ३.४४ प्रतिशत पुगेको छ । समीक्षा अवधिका लागि बैंकको प्रतिसेयर नेटवर्थ २३३.३८ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्ति मूल्य रु. २२८३.९८ कायम भएको छ ।

एनआईसी एशिया

एनआईसी एशिया बैंक लिमिटेडको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ। गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले १ अर्ब ३८ करोड रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६८.९१ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४ अर्ब ४४ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी सामान्य घटेको र इम्पेरमेन्ट चार्ज बढेका कारण बैंकको खुद नाफा घट्न पुगेको हो।समीक्षा अवधीमा बैंकको खुद ब्याज आम्दानी १३.३९ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी १३.८८ प्रतिशत घटेको छ।

त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी १२.३६ प्रतिशत र सञ्चालन मुनाफा ५३.८३ प्रतिशत घटेको छ। समीक्षा अवधिमा बैंकको खराब कर्जा ०.११ प्रतिशतबाट बढेर १.७४ प्रतिशत बढेको छ। जसका कारण बैंकको इम्पेरमेन्ट चार्ज २ अर्ब ८४ करोड पुगेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २९ रुपैयाँ १७ पैसा घटेर ९ रुपैयाँ २६ पैसामा झरेको छ।

असार मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ २०२ रुपैयाँ २४ पैसा र मूल्य आम्दानी अनुपात ४७.८४ गुणा रहेको छ। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा भने २ अर्ब ३० करोड रुपैयाँ ऋणात्मक रहेको छ।

१४ अर्ब ९१ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १५ अर्ब २५ करोड रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा बैंकको निक्षेप १३.८६ प्रतिशत बढेको छ भने कर्जा ३.९५ प्रतिशत बढेको छ।

सिद्धार्थ बैंक

सिद्धार्थ बैंक लिमिटेडको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य घटेको छ। गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ३ अर्ब १ करोड रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.७८ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब १६ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी सामान्य घटेको र इम्पेरमेन्ट चार्ज सामान्य बढेका कारण बैंकको खुद नाफा सामान्य घट्न पुगेको हो।

समीक्षा अवधीमा बैंकको खुद ब्याज आम्दानी २.३३ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ३.४३ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ०.६१ प्रतिशत र सञ्चालन मुनाफा ६.१० प्रतिशत घटेको छ। समीक्षा अवधिमा बैंकको खराब कर्जा २.०१ प्रतिशतबाट बढेर २.२२ प्रतिशत पुगेको छ। जसका कारण बैंकको इम्पेरमेन्ट चार्ज १ अर्ब २३ करोड पुगेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १ रुपैयाँ ७ पैसा घटेर २१ रुपैयाँ ४० पैसामा झरेको छ। असार मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १९६ रुपैयाँ ३६ पैसा र मूल्य आम्दानी अनुपात १३.२२ गुणा रहेको छ। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा भने ३६ करोड ६६ लाख रुपैयाँ रहेको छ।

१४ अर्ब ८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १३ अर्ब ५७ करोड रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा बैंकको निक्षेप ७.९० प्रतिशत बढेको छ भने कर्जा ६.१५ प्रतिशत बढेको छ।

लक्ष्मी सनराइज बैंक लिमिटेड

लक्ष्मी सनराइज बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा र प्रतिशेयर आम्दानी दुबै अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ३ अर्ब ३ करोड रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२.७९ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब २८ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी उल्लेख्य बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो। समीक्षा अवधीमा बैंकको खुद ब्याज आम्दानी १०३.९७ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ९४.६६ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ९०.५० प्रतिशत र सञ्चालन मुनाफा ३५.९९ प्रतिशत बढेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २ रुपैयाँ ५४ पैसा बढेर १३ रुपैयाँ ९ पैसा पुगेको छ। असार मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १७५ रुपैयाँ ८० पैसा र मूल्य आम्दानी अनुपात १३.३७ गुणा रहेको छ। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा भने १ अर्ब २८ करोड रुपैयाँ र वितरणयोग्य प्रतिशेयर आम्दानी ५ रुपैयाँ ५५ पैसा रहेको छ।

२३ अर्ब १८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १७ अर्ब ५७ करोड रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा बैंकको निक्षेप ११.०३ प्रतिशत बढेको छ भने कर्जा १.०१ प्रतिशत मात्र बढेको छ।

एभरेष्ट बैंक लिमिटेड

आर्थिक वर्ष २०८० ८१ को चौथो त्रैमाससम्ममा वाणिज्य बैंकहरुमध्येमै सबैभन्दा राम्रो लाभांश क्षमता बनाएको छ । बैंकले सोमबार प्रकाशित गरेको चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरणअनुसार लाभांश क्षमता २९.८६ प्रतिशत बनाएको देखिएको हो।

अघिल्लो वर्षको तुलनामा लाभांश क्षमता घटे पनि प्रतिकूल समयका बाबजुद बैंकले सन्तोषजनक प्रगति नै गरेको देखिन्छ । यो कम्पनीको अघिल्लो वर्षको यही अवधिसम्मको लाभांश क्षमता ३८.४२ प्रतिशत रहेको थियो ।

कुल ११ अर्ब ७६ करोड चुक्तापूँजी रहेको बैंकले चौथो त्रैमाससम्म ३ अर्ब ५१ करोड वितरणयोग्य मुनाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिसम्म भने ४ अर्ब ११ करोड यस्तो नाफा आर्जन भएको थियो ।

समीक्षा अवधिमा बैंकको खूद नाफा बढेर ३ अर्ब ७० करोड पुगेको छ । अघिल्लो वर्ष खूद नाफा ३ अर्ब ३६ करोडमा सीमित थियो ।

अघिल्लो वर्ष ४ अर्ब ८१ करोडमा सीमित सञ्चालन मुनाफा बढेर यो वर्ष ५ अर्ब ६० करोड पुगेको छ भने ७ अर्ब ४१ करोडमा सीमित खूद ब्याज आम्दानी बढेर ७ अर्ब ६६ करोडको उचाईमा पुगेको छ ।

विषम परिस्थितिका बाबजुद बैंकले खराब कर्जा घटाउने सफलता पाएको छ । फलस्वरुप अघिल्लो वर्ष ०.७९ प्रतिशत रहेको खराब कर्जा अनुपात घटेर यो वर्ष ०.७१ प्रतिशतमा सीमित बनेको छ ।

अघिल्लो वर्ष १३.३१ प्रतिशत रहेको रिटर्न अन इक्वीटी(आरओई) बढेर १३.३२ प्रतिशत पुगेको छ भने प्रतिसेयर नेटवर्थ केही घटी २३६.०६ रुपैयाँ तथा प्रतिसेयर आम्दानी ३१.४३ रुपैयाँबाट बढेर ३१.४५ रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिसम्म बैंकले २ खर्ब ३२ अर्ब बढी निक्षेप संकलन गरी १ खर्ब ७९ अर्ब बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको तुलनामा बैंकले निक्षेप र कर्जातर्फ नै ग्रोथ गरेको देखिन्छ।

हिमालयन बैंक लिमिटेड

गत आव २०८०/८१ को चौथो त्रैमाससम्ममा २ अर्ब ८३ करोड रुपैयाँ बराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवमा बैंकले आर्जन गरेको १ अर्ब ५६ करोड रुपैयाँको तुलनामा ८१.५९ प्रतिशतले बढी हो ।

बैंकले खुद ब्याज आम्दानी पनि १७.१२ प्रतिशतले बढाएको छ । अघिल्लो आवको चौथो त्रैमाससम्ममा ९ अर्ब २० करोड रुपैयाँ रहेको बैंकको खुद ब्याज आम्दानी बढेर ११ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ । बैंकले खुद शुल्क तथा कमिशन आम्दानी पनि ७.५८ प्रतिशतले बढाएर १ अर्ब ४ करोड रुपैयाँ पुर्याएको छ ।

बैंकको खुद सञ्चालन मुनाफा १० अर्ब ३५ करोड रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिसम्म यो रकम ६ अर्ब ७० करोड रुपैयाँमा सीमित थियो ।

बैंकको कर्मचारी खर्च ३ अर्ब १९ करोड रुपैयाँ र अन्य सञ्चालन खर्च १ अर्ब २८ करोड रुपैयाँ रहेको छ । रिटेन्ड अर्निङ ५ अर्ब ७८ करोड रुपैयाँ ऋणात्मक रहेको बैंकको रिजर्भको आकार २२ अर्ब ४३ करोड रुपैयाँबराबर रहेको छ । रिजर्भको आकार अघिल्लो आवको तुलनामा ४७.४६ प्रतिशतले बढी हो ।

बैंकले निक्षेप संकलन र कर्जा प्रवाह दुवै बढाएको छ । बैंकले कर्जा प्रवाह २ खर्ब २७ करोडबाट बढाएर २ खर्ब ३२ अर्ब रुपैयाँ पुर्याएको छ । यस्तै निक्षेप संकलन पनि २ खर्ब ७५ अर्ब रुपैयाँबाट बढाएर २ खर्ब ९३ अर्ब रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिसम्म बैंकको खराब कर्जा अनुपात ४.९१ प्रतिशत रहेको छ भने बैंकले इम्पेयरमेन्ट चार्जका लागि २ अर्ब ७८ करोड रुपैयाँको व्यवस्था गरेको छ ।

चौथो त्रैमाससम्ममा बैंकको वितरणयोग्य मुनाफा ५ अर्ब ७८ करोड रुपैयाँले ऋणात्मक रहेको छ । यस्तै बैंकको प्रतिसेयर आम्दानी(ईपीएस)भने ९.१८ रुपैयाँबाट बढेर १३.१० रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १७६.९० रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ६५०.७८ रुपैयाँ र तरलता अनुपात २९.६८ प्रतिशत कायम भएको छ । 

स्ट्यान्डर्ड चार्टर्ड बैंक

स्ट्यान्डर्ड चार्टर्ड बैंक ३ अर्ब ३० करोड रुपैयाँ बराबरको खुद नाफा कमाएको छ । अघिल्लो वर्ष ३ अर्ब ४६ करोडको खुद नाफा रहेकोमा यो वर्ष नाफा ४.६२ प्रतिशतले घटेको हो ।

यो वर्ष बैंकको खुद व्याज आम्दानी घट्दा नाफामा नकारात्मक असर देखिएको छ । अघिल्लो वर्ष ५ अर्ब ९५ करोड रहेको खुद ब्याज आम्दानी यो वर्ष ५ अर्ब १५ करोड रुपैयाँमा झरेको हो ।

अन्य शुल्क तथा आम्दानी भने यो वर्ष बढेको छ । यो शीर्षकमा अघिल्लो वर्ष १ अर्ब २८ करोड रुपैयाँ बराबरको आम्दानी रहेकोमा यो वर्ष बढेर १ अर्ब ४१ करोड रुपैयाँ पुगेको हो । व्यापारमूलक आम्दानी पनि यो वर्ष सामान्य बढेको छ ।

यो वर्ष बैंकको इम्पेरिमेन्ट चार्ज भने घटेको छ । अघिल्लो वर्ष यो शीर्षकमा ५९ करोड रुपैयाँ छुट्याएको बैंकले यो वर्ष २१ करोड मात्रै छुट्याएको हो । करिब ३८ करोड रुपैयाँ पोजेटिभ हुँदा पनि व्यवसाय विस्तार हुन नसक्दा नाफामा सुधार हुन नसकेको हो ।

यो वर्ष बैंकले खर्च नियन्त्रणमा उल्लेख्य प्रगति गरेको छ । बैंकको कर्मचारी खर्च, सञ्चालन खर्च र ह्रासकट्टी लगायत सबै खर्चहरु घटेका छन् ।

बैंकले यो वर्ष कमाएको नाफामध्ये २ अर्ब ४९ करोड रुपैयाँ शेयरधनीहरुलाई बाँड्न मिल्ने देखिएको छ । बैंकको हाल रहेको ९ अर्ब ४२ करोड रुपैयाँको चुक्तापूँजीको आधारमा यो प्रतिशेयर २६.५० प्रतिशत बराबर हुन आउँछ ।

बैंकको निष्क्रिय कर्जा अनुपात २.१४ प्रतिशत,पूँजीकोष अनुपात १७.१६ प्रतिशत, कस्ट अफ फण्ड ३.८४ प्रतिशत र आधारदर ६.६० प्रतिशत रहेको छ ।

असार मसान्तसम्म १ खर्ब १२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ८१ अर्ब कर्जा प्रवाह गरेको बैंकको रिटेन्र्ड अर्निङमा २ अर्ब ४९ करोड र रिजर्भमा ८ अबए ८६ करोड रहेका कारणपूँजीकोष अनुपात निकै खुकुलो देखिएको छ ।

सिटिजन्स बैंक

सिटिजन्स बैंकले यो गत आर्थिक वर्षमा १ अर्ब ३४ करोड रुपैयाँ बराबरको नाफा कमाएको छ । अघिल्लो वर्ष १ अर्ब ८६ करोड रुपैयाँ बराबरको खुद नाफा गरेको बैंकले यो अवधिमा नाफा झण्डै २८ प्रतिशतले घटेको हो । बैंकले कमाएको यो नाफा प्रतिशेयर ९.४५ प्रतिशत बराबर हो ।

यसरी नाफा घट्नुमा खुद ब्याज आम्दानी घट्नु र इम्पेरिमेन्ट चार्ज बढ्नु मुख्य कारणको रुपमा देखिएको छ । यो वर्ष बैंकले ५ अर्ब ६८ करोड रुपैयाँ बराबरको खुद ब्याज आम्दानी गरेको छ जुन अघिल्लो वर्ष ५ अर्ब ८२ करोड रुपैयाँ रहेको थियो । 

खुद ब्याज आम्दानी घटे पनि बैंकले कमिसन शुल्कहरुमा भने उल्लेख्य प्रगति गरेको छ । खुद कमिसन तथा शुल्क आम्दानी अघिल्लो वर्ष ८७ करोड रुपैयाँ रहेकोमा यो वर्ष १ अर्ब १२ करोड रुपैयाँ पुगेको हो । व्यापारमूलक गतिविधिबाट हुने आम्दानी भने यो वर्ष घटेको छ । 

बैंकले यो वर्ष इम्पेरिमेन्ट चार्जबापत १ अर्ब ७६ करोड रुपैयाँ प्रोभिजनिङ गरेको छ । अघिल्लो वर्ष यो १ अर्ब २१ करोड रुपैयाँ रहेको थियो । नउठेको कर्जाबापत गरिने उक्त प्रोभिजनका कारण बैंकको नाफा घटेको देखिएको हो । यो वर्ष बैंकको कर्मचारी खर्च सामान्य बढ्दा सञ्चालन खर्च र ह्रासकट्टी खर्च बढेको छ । 

बैंकले कमाएको यो नाफामध्ये यो वर्ष ६१ करोड ६१ लाख रुपैयाँ बराबरको रकम वितरणयोग्य देखिएको छ । बैंकको १४ अर्ब २० करोड रुपैयाँ चुक्तापूँजीका आधारमा यो भनेको प्रतिशेयर ४.३४ प्रतिशत बराबर हुन आउँछ । 

बैंकसँग रिजर्भमा ६ अर्ब ७४ करोड रुपैयाँ रहेको छ । यो समेतका आधारमा यो अवधिमा बैंकको पूँजीकोष अनुपात १३.१३ प्रतिशत बराबर हुन आउँछ । यो अवधिमा बैंकको निष्क्रिय कर्जा अनुपात ४.०७ प्रतिशत, कस्ट अफ फण्ड ६.३२ प्रतिशत र आधारदर ८.६२ प्रतिशत रहेको छ । 

एनएमबि बैंक

एनएमबि बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा खुद मुनाफा घटेको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। गत आर्थिक वर्षको मुनाफा घट्दा बैंकले शेयरधनीलाई वितरणगर्न सक्ने मुनाफा पनि घटेको छ। 

बैंकले गत आर्थिक वर्ष २ अर्ब ३३ करोड ६५ लाख ९९ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। जुन अघिल्लो आर्थिक वर्ष ३ अर्ब २२ करोड थियो। गत आर्थिक वर्षको खुद मुनाफाबाट डिबेन्चर, उठ्न बाँकी ब्याज, नउठेको सावाँ ब्याजको प्रोभिजन समायोजन गर्दा गत आर्थिक वर्ष बाँड्न मिल्ने मुनाफा ९४ करोडमा सिमित भएको छ। 

बाँड्न मिल्ने नाफामा अघिल्लो आर्थिक वर्षको कमाई १ अर्ब १४ करोड थपिए पनि त्यसमा एफपीओ बापतको कर १ अर्ब ८४ करोड तिर्दा गत आर्थिक वर्ष शेयरधनीलाई बाँड्न मिल्ने नाफा २३ करोड ३८ लाखमा सिमित हुन् पुगेको हो। जसले गर्दा लाभांश क्षमता ६ दशमलब २१ प्रतिशतबाट घटेर १ दशमलब ३० प्रतिशतमा सीमित भएको छ। 

यस अवधिमा बैंकको आधार दर १० दशमलब ३७ प्रतिशतबाट घटेर ८ दशमलब ४२ प्रतिशतमा झरेको छ। यसले आगामी दिनमा बैंकबाट कर्जा लिंदा ब्याजदर थप सस्तो पर्नेछ। 

कुमारी बैंक

गत आर्थिक वर्षमा कुमारी बैंकको नाफा ३४५.६८ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले ५१ करोड ७९ लाख २१ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । बैंकको अपरिस्कृत वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०८०/८१ मा २ अर्ब ३० करोड ८२ लाख १२ हजार रुपैयाँ नाफा आर्जन गरेको हो ।

बैंकको सञ्चालन नाफामा बढोत्तरी र नोक्सानी व्यवस्था घट्दा नाफा बढेको छ । बैंकले नोक्सानी व्यवस्थाका लागि छुट्याउनुपर्ने रकम धेरै नै घटेको छ । जसले नाफा बढाउन सघाएको छ । बैंकको ब्याज आम्दानी १३.४० प्रतिशतले बढेर ३८ अर्ब ६८ करोड २३ लाख रहेको छ ।

खुद ब्याज आम्दानी ०.७२ प्रतिशतले घटेर १० अर्ब ९८ करोड ६८ लाख रुपैयाँ रहेको छ । बैंकको सञ्चालन नाफा ३०५.९२ प्रतिशतले बढेर ३ अबर्ब ९० करोड ३७ लाख रुपैयाँ रहेको छ ।

यस अवधिमा बैंकले अघिल्लो आव छुट्याएको नोक्सानी व्यवस्थाभन्दा ५६.०८ प्रतिशत घटेर ३ अर्ब ५६ करोड ४३ लाख मात्र प्रोभिजन थप गरेको छ ।

बैंकको वितरणयोग्य नाफा भने ३ अर्ब ७८ करोड ८९ लाख रुपैयाँ ऋणात्मक रहेको छ । बैंकको ब्याज बक्यौता बढी हुँदा लाभांश दिन सक्ने क्षमता ऋणात्मक देखिएको छ । बैंकले गैह्र बैंकिङ सम्पत्तिका लागि ४१ करोड प्रोभिजन गरेको छ ।

बैंकले २०८१ असार मसान्तसम्म ३ खर्ब ३३ अर्ब ११ करोड १३ रुपैयाँ बराबरको निक्षेप परिचालन गरेको बैंकले २ खर्ब ७३ अर्ब २० करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

बैंकको चुक्तापुँजी २६ अर्ब २२ करोड ५८ लाख र जगेडा कोषमा १४ अर्ब ६६ करोड ४३ लाख रुपैयाँ छ । बैंकको प्रतिसेयर आम्दानी ८.८ रुपैयाँ, नेटवर्थ १४१.४७ रुपैयाँ र पीई रेसियो १७.४७ प्रतिशत छ ।

यस अवधिमा प्रभुको निष्क्रिय कर्जा ४.९६ प्रतिशतबाट घटेर ४.९५ प्रतिशत कायम भएको छ । बैंकले गरेको कुल प्रोभिजन निष्क्रिय कर्जाको अनुपातमा १३७.१३ प्रतिशत छ जुन अघिल्लो आवको अन्त्यसम्म ११३.८ प्रतिशतमात्र थियो । बैंकको निक्षेप कर्जा अनुपात ८१.४८ प्रतिशत रहेको छ ।

सानिमा बैंक

सानिमा बैंकको नाफा ८.५९ प्रतिशतले घटेको छ । ब्याज आम्दानीमा कमी र नोक्सानी व्यवस्थामा वृद्धिका कारण आव २०८०/८१ मा बैंकको नाफा घटेको हो । अघिल्लो आव २ अर्ब ६० करोड खुद नाफा गरेको बैंकले गत आव २ अर्ब ३८ करोडमात्र नाफा कमाउन सफल भएको हो ।

बैंकको ब्याज आम्दानीमा ४.१० प्रतिशतको गिरावट आइ २० अर्ब ७२ करोडमा सिमित भएको छ भने खुद ब्याज आम्दानी ४.६४ प्रतिशतले घटेर ६ अर्ब १७ करोड कायम भएको छ । यस अवधिमा बैंकले नोक्सानी व्यवस्थावापत १ अर्ब ४९ करोड रुपैयाँ प्रोभिजन गरेको छ जुन अघिल्लो आवको भन्दा ४१.९० प्रतिशतले वृद्धि भएको छ ।

बैंकको वितरणयोग्य नाफा १ अर्ब ४१ करोड रुपैयाँ हो जसका आधारमा बैंकको लाभांश क्षमता १०.४ प्रतिशत हुन आउँछ ।

एक वर्षको अवधिमा सानिमा बैंकको निक्षेप १२.२१ प्रतिशतले बढेर १ खर्ब ९७ अर्ब २० करोड पुगेको छ भने बैंकले १ वर्षमा कर्जा ९.६७ प्रतिशतले बढेर १ खर्ब ५९ ४९ करोड रुपैयाँ कायम भएको छ ।

बैंकको चुक्तापुँजी १३ अर्ब ५८ करोड छ भने रिजर्भमा ५ अर्ब ९७ करोड छ जुन अघिल्लो आवको भन्दा २६.९० प्रतिशतले बढेको हो ।

सानिमाको नाफा घट्दा प्रतिसेयर आम्दानी ३.३७ रुपैयाँले घटेर १७.५४ रुपैयाँ कायम भएको छ । यस्तै नेटवर्थ १५४.३५ रुपैयाँ र पीई रेसियो १५.९१ रहेको छ ।

बैंकले निष्क्रिय कर्जामा उल्लेख्य सुधार गरी १.७३ प्रतिशतमा सिमित राखेको छ । यस्तै खुद निष्क्रिय कर्जा ०.५१ प्रतिशतमात्र छ । सानिमा बैंकले नोक्सानी वापतको प्रोभिजन निष्क्रिय कर्जाको तुलनामा १६७ प्रतिशत कायम गरेको छ भने सीडी रेसियो ८०.५३ प्रतिशत छ ।

नेपाल बैंक

सरकारी स्वामित्वको नेपाल बैंक लिमिटेडले गत आर्थिक वर्षमा १ अर्ब ६५ करोड ५२ लाख रुपैयाँ खुद नाफा गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ५१.८५ प्रतिशतले कम हो, अघिल्लो वर्ष बैंकले ३ अर्ब ४३ करोड ७५ लाख रुपैयाँ नाफा गरेको थियो ।

बैंकको खुद ब्याज आम्दानी ६.४३ प्रतिशतले घटेर ८ अर्ब ८० करोड २१ लाख रुपैयाँमा झरेको छ । अघिल्लो वर्ष बैंकको यस्तो आम्दानी ९ अर्ब ४० करोड ६९ लाख रुपैयाँ थियो । गत वर्ष बैंकको कुल सञ्चालन आम्दानीमा ०.२६ प्रतिशतको सामान्य गिरावट देखिएको छ । गत वर्ष बैंकले १० अर्ब ५९ करोड ८२ लाख रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको छ जुन अघिल्लो वर्ष १० अर्ब ६२ करोड ५८ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

गत वर्ष बैंकको इम्पेयरमेन्ट चार्ज १ अर्ब ११ करोड ३३ लाख रुपैयाँबाट बढेर २ अर्ब ५९ करोड ६६ लाख रुपैयाँ पुगेको छ । यससँगै बैंकको सञ्चालन नाफामा ३५.१९ प्रतिशतको गिरावट आएको छ । अघिल्लो वर्ष ४ अर्ब ३३ करोड ४३ लाख रुपैयाँ सञ्चालन नाफा गरेको बैंकले गत वर्ष २ अर्ब ८० करोड ९१ लाख रुपैयाँ मात्रै यस्तो नाफा गरेको छ ।

गत वर्ष बैंकको खुद सञ्चालन आम्दानी पनि १५.८८ प्रतिशतले घटेर ८ अर्ब १५ लाख रुपैयाँमा सिमित भएको छ । जुन अघिल्लो वर्ष ९ अर्ब ५१ करोड २५ लाख रुपैयाँ थियो । गत वर्ष बैंकको ईपीएस २३ रुपैयाँ ३९ पैसाबाट घटेर ११ रुपैयाँ २८ पैसामा झरेको छ । बैंकको खराब कर्जा पनि २.८५ प्रतिशतबाट बढेर ३.२८ प्रतिशत पुगेको छ भने आधारदर ९.९२ प्रतिशतबाट घटेर ७.९७ प्रतिशतमा झरेको छ ।

बैंकको वितरणयोग्य नाफामा उल्लेख्य बृद्धि देखिएको छ । अघिल्लो वर्ष ३ लाख ८९ हजार रुपैयाँ वितरणयोग्य नाफा रहेको यस बैंकको यस्तो नाफा गत वर्ष ७६ करोड ९३ लाख रुपैयाँ पुगेको छ । बैंकको प्रतिशेयर नेटवर्थ २५७ रुपैयाँ ५७ पैसा रहेको छ ।

गत वर्षको असार मसान्तसम्म आइपुग्दा बैंकको चुक्ता पूँजी १४ अर्ब ६९ करोड ४० लाख रुपैयाँ रहेको छ भने रिजर्भको आकार २.५५ प्रतिशतले बढेर २२ अर्ब ३८ करोड ४५ लाख रुपैयाँ पुगेको छ । गत वर्ष बैंकले ग्राहकमा प्रवाह गर्ने कर्जा १०.३५ प्रतिशतले बढाएर १ खर्ब ९७ अर्ब ३ करोड ९९ लाख रुपैयाँ पुर्याएको छ भने निक्षेप संकलन १५.७७ प्रतिशतले बढाएर २ खर्ब ८३ अर्ब ८ करोड ३७ लाख रुपैयाँ पुर्याएको छ ।

राष्ट्रिय वाणिज्य बैंक

सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले गत आर्थिक वष ३ अर्ब ३९ करोड ८२ लाख रुपैयाँ खुद नाफा गरेको छ जुन अघिल्लो वर्षको तुलनामा ५.४८ प्रतिशतले कम हो । अघिल्लो वर्ष बैंकले ३ अर्ब ५९ करोड ५१ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

गत वर्ष बैंकको खुद ब्याज आम्दानी १३.३९ प्रतिशतले घटेर १० अर्ब २३ करोड ४० लाख रुपैयाँमा झरेको छ । अघिल्लो वर्ष बैंकको यस्तो आम्दानी ११ अर्ब ८१ करोड ६२ लाख रुपैयाँ थियो । अघिल्लो वर्ष २ अर्ब ६० करोड ८६ लाख रुपैयाँभन्दा बढी रहेको इम्पेयरमेन्ट चार्ज घटेर गत वर्ष ७ करोड ४९ लाख रुपैयाँ ऋणात्मक भएको छ । यससँगै बैंकको सञ्चालन नाफा ४.९४ प्रतिशतले बढेर ५ अर्ब २० करोड ७४ लाख रुपैयाँ पुगेको छ जुन अघिल्लो वर्ष ४ अर्ब ९६ करोड २२ लाख रुपैयाँमात्रै थियो ।

गत वर्ष बैंकको खुद सञ्चालन आम्दानी ११.१८ प्रतिशतले बढेर ११ अर्ब ८५ करोड १४ लाख रुपैयाँ पगुेको छ जुन अघिल्लो वर्ष १० अर्ब ६५ करोड ९७ लाख रुपैयाँ थियो । गत वर्ष बैंकको वितरणयोग्य नाफा ३६.६१ प्रतिशतले घटेर ५८ करोड २१ लाख रुपैयाँमा सिमित भएको छ जुन अघिल्लो वर्ष ९१ करोड ८४ लाख रुपैयाँ थियो ।

गत वर्ष बैंकको ईपीएस २४ रुपैयाँ २२ पैसाबाट घटेर २१ रुपैयाँ ७३ पैसामा झरेको छ भने खराब कर्जा ३.७७ प्रतिशतबाट घटेर ३.६५ प्रतिशत कायम भएको छ । यस अवधिमा बैंकको आधारदर ६.७१ प्रतिशत रहेको छ ।

चुक्ता पूँजी १५ अर्ब ६३ करोड ७३ लाख रुपैयाँ रहेको यस बैंकको रिटेन्ड अर्निङमा ५८ करोड २१ लाख रुपैयाँ रहेको छ । गत वर्ष रिजर्भको आकार ७.६० प्रतिशतले बढेर ३६ अर्ब ७८ करोड १९ लाख रुपैयाँ पुगेको छ । बैंकले गत वर्ष ग्राहकमा प्रवाह गर्ने कर्जा ९.५० प्रतिशतले बढाएर २ खर्ब ४८ अर्ब ९१ करोड १५ लाख रुपैया पुर्याएको छ भने निक्षेप संकलन ३३.४३ प्रतिशतले बढाएर ४ खर्ब २९ अर्ब १८ करोड ७७ लाख रुपैयाँ पुर्याएको छ ।

नेपाल एसबीआई बैंक

यस बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म २ अब १ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो वर्षको सही अवधिको तुलनामा २.३५ प्रतिशत धेरै हो। अघिल्लो वर्ष यसले १ अर्ब ९६ करोड रुपैयाँ कमाएको थियो ।
इम्पेयरमेन्ट चार्ज घट्दा नाफा बढेको हो । यता बैंकको खुद ब्याद आम्दानी भने घटेको छ । ५ अर्ब ७६ करोड रहेको उक्त आम्दानी १२.०४ प्रतिशत घटेर ५ अर्ब ७ करोड रुपैयाँ कायम भएको छ ।

सञ्चालन नाफा १.४५ प्रतिशत बढेको छ । बैंकको इम्पेयमेन्ट चार्ज ५७.८९ प्रतिशत घटेर ६३ करोड ६३ लाख रुपैयाँ कायम भएको छ । चुक्ता पुँजी १० अर्ब ५० करोड १ लाख ५२ हजार रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ७ अर्ब ८५ करोड रुपैयाँ रहेको छ ।