
बैंकिङ खबर/ धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल २१ पुसमा सेवानिवृत्त भएपछि रिक्त भएको पदमा अहिलेसम्म नयाँ अध्यक्ष चयन हुन सकेका छैनन् । बोर्ड अध्यक्ष रिक्त भएको सात महिना पुग्दा पनि नयाँ अध्यक्ष कहिले चयन हुने भन्ने टुंगो छैन ।
यसभन्दा अघिल्लो पुष्पकमल दाहाल नेतृत्वको सरकारले राष्ट्रिय योजना आयोगका तत्कालीन उपाध्यक्ष मीनबहादुर श्रेष्ठ नेतृत्वमा तीन सदस्यीय धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समिति बनाएको थियो । समितिले अध्यक्षका लागि दरखास्त आह्वान गरेर ५ जनालाई सर्ट लिष्टमा पारेर छनोट प्रक्रिया अगाडि पनि बढाएको थियो ।
तर, राजनीतिक खिचातानीका कारण छनोट प्रक्रिया असफल भएपछि अर्थ मन्त्रालयले प्रक्रिया रद्द गरेको थियो । त्यसविरुद्ध परेको रिटमा १८ असारमा नियुक्ति प्रक्रिया रद्द नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गर्यो । यो आदेशपछि बोर्डको अध्यक्ष पदपूर्तिमा अन्योल बढिरहेको छ ।
आइतबारका लागि सर्वोच्चले सो रिटको पेसी निर्धारण गर्ने भनिएको थियो । तर, आज सरकारले सार्वजनिक बिदा दिएको थियाे । अब पेसीको नयाँ मिति कहिले हो केही निश्चित छैन । सर्वोच्चबाट यो रिटको छिनोफानो नहुँदासम्म नयाँ अध्यक्ष कहिले आउँछ केही भन्न सक्ने अवस्था छैन ।
धितोपत्र बोर्ड ऐन, २०६३ ले पुँजी बजारको विकास गर्न तथा धितोपत्रमा लगानी गर्ने लगानीकर्ताको हित संरक्षण गर्न आवश्यक कार्य गर्ने अधिकार अध्यक्षलाई दिएको छ । अध्यक्षले बजार तथा धितोपत्र व्यवसायीको कारोबारको नियमन गर्न पाउँछ ।
अहिले सेयर लगानीकर्ताको हित संरक्षण गर्ने जिम्मा अर्थमन्त्रालयले त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख प्रशासक महेश बराललाई दिएको छ । कार्यवाहक अध्यक्ष भए पनि बरालले भन्सारकै कामले भ्याइनभ्याइ भएका कारण नियमित काममा समय दिन सकिरहेका छैनन् ।



