बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले आन्तरिक ऋण उठाउन प्रयोग गर्ने विभिन्न ५ उपकरणमध्ये एक हो वैदेशिक रोजगार बचतपत्र ।वैदेशिक रोजगारीमा रहेका युवाहरुबाट यस बचतपत्रअन्तर्गत आन्तरिक ऋण उठाइन्छ । मुलुक बाहिर रोजगारीमा रहेको वा नेपाल फर्किएको ४ महिना नपुगेको व्यक्तिले यो बचतपत्र किन्न पाउँछन् । विदेशमा हुनेले बुबा, आमा, श्रीमान, श्रीमती, छोरा, छोरीको नाममा समेत खरिद गर्न पाउँछन् ।
फाइदाहरु
यस्तो बचतपत्रमा निश्चित वर्षका लागि लगानी गरिन्छ । उक्त अवधि सकिएपछि सावाँसहित फिर्ता पाइन्छ । व्याज वाणिज्य बैंकहरुमा प्रचलितभन्दा बढी पाइन्छ । अहिले जारी गरिएको वैदेशिक रोजगार बचतपत्रमा १० प्रतिशत व्याज दिइएको छ ।
व्याजका लागि भने पूरै समय कुर्नुपर्दैन । बचतपत्रको अवधि नसकिँदासम्म ६.६ महिनामा व्याज भुक्तानी पाइन्छ । आवश्यक परे बचतपत्रलाई धितो बन्धक राखेर कुनै पनि वित्तीय संस्थाबाट रकम झिक्न पनि सकिन्छ भने बिक्री गर्न पनि सकिन्छ ।
यस्तो बचतपत्रमा लगानी गर्नु भनेको देशको विकासमा योगदान पु¥याउनु हो । किनकी, यसरी उठाएको रकम राष्ट्र बैंकमार्फत सरकारले विकास निर्माणका काममा प्रयोग गर्छ ।
तर वैदेशिक रोजगार बचत पत्रमा खासै आकर्षण भने देखिएको छैन । २०६६/६७ देखि शुरु गरिएको वैदेशिक रोजगार बचतपत्रमा १३ वर्षको अवधिमा जम्मा ७६ करोड २३ लाख रुपैयाँ बराबरको मात्र ऋणपत्र बिक्री भएको छ । यो कूल खरिद आह्वानको जम्मा ४.९ प्रतिशत मात्र हो ।
नेपाल राष्ट्र बैंक, मौद्रिक व्यवस्थापन विभागले आर्थिक वर्ष २०८०/८१ को वार्षिक कार्ययोजना अनुसार वैदेशिक रोजगार बचतपत्रका स्थिति र यसको प्रवर्द्धनका उपायहरू सम्बन्धी एक अध्ययन गरेको छ । जुन अध्ययन प्रतिवेदनले २०७५/७६ बाहेक सुरु वर्षदेखि २०७९/८० सम्मका सबै वर्षहरुमा यस्तो बचत पत्र बिक्रीका लागि आह्वान गरिएको जनाएको छ ।
आर्थिक वर्ष २०६६/६७ देखि २०७९/८० सम्मका १३ वर्षहरूमा बैंकले २५ पटक गरी जम्मा १५ अर्ब ५६ करोड रुपैयाँ बराबरको वैदेशिक बचत पत्र बिक्री आह्वान भएकामा यस अवधिमा जम्मा ७६ करोड २३ लाख रुपैयाँ बराबरको मात्र बिक्री भएको राष्ट्र बैंकले जनाएको छ ।
पछिल्लो रिपोर्ट अनुसार ५५ लाख २६ हजार नेपालीहरू वैदेशिक रोजगारीको सिलसिलामा विश्वका विभिन्न देशहरूमा छन् । यसको अलाबा २० प्रतिशत भन्दा माथि अनौपचारिक च्यानलबाट भारतमा रहेका नेपालीहरू समेतलाई आधार बनाएर गरिएको सर्वेक्षणले वैदेशिक रोजगार बचतपत्रमा खासै रुचि नभएको देखाएको छ । बचतपत्रको परिचालन सुरुका वर्षहरूदेखि नै अपेक्षित रूपमा बिक्री हुन सकेको देखिँदैन ।
राष्ट्र बैंकको रिपोर्ट अनुसार पहिलो वर्ष १ अर्बको बचत पत्र आव्हान भएकोमा जम्मा ४० लाख रुपैयाँको बचत पत्र बिक्री भएको थियो भने दोस्रो वर्ष ५ अर्ब निष्कासन आव्हान भएकोमा ३३ लाख रुपैयाँ मात्र बिक्री भयो । त्यसपछिका अधिकांश वर्षहरूमा बचतपत्रको आव्हान ५० करोड भन्दा कम भएको देखिन्छ ।
आर्थिक वर्ष २०६८/६९ मा १ अर्ब आह्वान भएकोमा कत्तिपनि बिक्री भएन । २०६९/७० मा पुनः १ अर्बको आह्वान भएकोमा जम्मा १९ लाख रुपैयाँ मात्र बिक्री भयो । यसैगरी आर्थिक वर्ष २०७०/७१ देखि लगातार ५ वर्ष २५ करोडका दरले बचत पत्र बिक्री आह्वान गरिएकोमा कुनैपनि वर्ष ३ करोड भन्दा बढीको आवेदन परेन । तथ्याङ्कले आर्थिक वर्ष २०६६/६७ देखि २०७९/८० सम्म आव्हान रकमको जम्मा ४.९ प्रतिशत मात्र बिक्री हुन सकेको देखाउँछ । यस अवधिमा निष्कासन भएका सबै वैदेशिक रोजगार बचपत्रहरु ५ वर्ष अवधिको रहेका छन् ।
वैदेशिक रोजगार बचतपत्रमा आकर्षण नहुनुमा वित्तीय शिक्षा र प्रचार प्रसारको कमी रहेको निष्कर्ष केन्द्रीय बैंकको रहेको छ । यस्तो बचतपत्रमा लगानीकर्ताहरूले १०.३१ प्रतिशतसम्म ब्याजदर प्राप्त गरेका छन् ।