Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंकिङ क्षेत्रको कुल चुक्तापुँजी झण्डै ११ अर्ब रुपैयाँ

२०८१ श्रावण १८ गते

बैंकिङ खबर/ एक वर्षमा बैंकिङ क्षेत्रको कुल चुक्तापुँजी झण्डै ११ अर्ब रुपैयाँले बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८०/८१ को जेठ मसान्तसम्म वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको कुल चुक्तापुँजी ४ खर्ब ३६ अर्ब ४० करोड ७० लाख रुपैयाँ पुगेको छ।

जुन पुँजी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ११ अर्ब ३८ करोड रुपैयाँले बढी हो। आर्थिक वर्ष २०७९/८० को जेठ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुको चुक्तापुँजी ४ खर्ब २५ अर्ब २ करोड ७० लाख रुपैयाँ थियो।
बासेल–३ कार्यान्वयनमा ल्याउने क्रममा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई न्यूनतम चुक्तापुँजी वृद्धि गर्न निर्देशन दिएको थियो।
त्यसपछि बैंकिङ क्षेत्रले चुक्तापुँजी बढाउँदै लगेका हुन्। राष्ट्र बैंकको प्रावधानअनुसार वाणिज्य बैंकहरुले न्यूनतम ८ अर्ब, राष्ट्रियस्तरका विकास बैंकहरुले न्यूनतम २ अर्ब ५० करोड र फाइनान्स कम्पनीहरुले न्यूनतम ८० करोड रुपैयाँ चुक्तापुँजी कायम गर्नुपर्छ।

आर्थिक वर्ष २०८०।८१ को जेठ मसान्तसम्म वाणिज्य बैंकहरुको चुक्तापुँजी ३ खर्ब ७९ अर्ब २ करोड रुपैयाँ कायम छ। जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९ अर्ब १६ करोड ३० लाख रुपैयाँले बढी हो। अघिल्लो आर्थिक वर्षको जेठ मसान्तमा वाणिज्य बैंकहरुको कुल चुक्तापुँजी ३ खर्ब ६९ अर्ब ८५ करोड ७० लाख रुपैयाँ थियो।

यस अवधिमा विकास बैंकहरुको चुक्तापुँजी ४२ अर्ब १७ करोड १० लाख रुपैयाँ पुगेको छ। जुन २०८० जेठ मसान्तको तुलनामा १ अर्ब ९८ करोड ९० लाख रुपैयाँले बढी हो। २०८० जेठमा विकास बैंकहरुको कुल चुक्तापुँजी ४० अर्ब १८ करोड २० लाख रुपैयाँ थियो।

आर्थिक वर्ष २०८०।८१ को जेठ मसान्तसम्ममा फाइनान्स कम्पनीहरुले कुल चुक्तापुँजी १८ अर्ब १३ करोड २० लाख रुपैयाँ कायम गरेका छन्। जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३ अर्ब १४ करोड ५० लाख रुपैयाँले बढी हो। २०८० जेठ मसान्तमा फाइनान्स कम्पनीहरुको चुक्तापुँजी १४ अर्ब ९८ करोड ७० लाख रुपैयाँ थियो।

चुक्तापुँजीसँगै बैंक तथा वित्तीय संस्थाको शाखा सञ्जाल पनि बढेको छ। २०८१ जेठ मसान्तसम्ममा लघुवित्तबाहेकका बैंक तथा वित्तीय संस्थाका कुल शाखा संख्या ६ हजार ४५२ पुगेको छ। जसमध्ये वणिज्य बैंकहरुको ५ हजार ३०, विकास बैंकहरुको १ हजार १३४ र वित्त कम्पनीहरुको २८८ वटा शाखा सञ्चालनमा छन्। अघिल्लो आवको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाको शाखा संख्या ६ हजार ४३२ वटा थियो। जसमध्ये वाणिज्य बैंकहरुको ५ हजार १५, विकास बैंकहरुको १ हजार १३० र फाइनान्स कम्पनीहरुको २८७ वटा शाखा सञ्चालनमा थिए।