July 31st, 2024

सेयर बजारमा झन्–झन नयाँ रेकर्ड बन्दै

बैंकिङ खबर/ नेप्से दोहोरो अंकले बढ्दा बुधबार सेयर कारोबार रकममा नयाँ रेकर्ड बनेको छ । आज नेपाली सेयर बजारको इतिहासमै सर्वाधिक रकमको कारोबार भएको छ ।

बुधबार ३३२ कम्पनीको पाँच करोड ९६ लाख सात हजार ९५१ कित्ता सेयर २१ अर्ब ९१ करोड १५ लाख रुपैयाँबराबरमा कारोबार भएको हो। ३१ साउन ०७८ मा बनेको रेकर्ड ब्रेक गर्दै कारोबार रकमले नयाँ कीर्तिमानी बनाएको हो । सो समयमा २१ अर्ब ६४ करोड ७६ लाख रुपैयाँको कारोबार भएको थियो।

आज नेप्से परिसूचक पनि ६४.२६ अंकले बढेर दुई हजार सात सय ६०.९१ विन्दुमा कारोबार बन्द भएको छ। सेन्सेटिभ इन्डेक्स र फ्लोट इन्डेक्स पनि दुई प्रतिशतभन्दा धेरैले बढेको छ।

ऐतिहासिक कारोबार भएको दिन आज नेप्सेका सबै समूहमा हरियाली छाएको छ । वित्त समूह ८.०८ प्रतिशत र लगानी समूह ६.९० प्रतिशतले वृद्धि भएका छन् । यसैगरी अन्य समूह करिब चार प्रतिशतले बढ्दा विकास बैंक समूह पनि ३.२१ प्रतिशतले उकालो लागेको छ।

बुधबार १९१ कम्पनीका सेयर मूल्य वृद्धि हुँदा १० वटा कम्पनीको मूल्यमा सर्किट लागेर १० प्रतिशतले बढेको छ। ४४ वटा कम्पनीको मात्रै मूल्य घटेको दिन सिभिल बैंक डिबेन्चर २०८८ का लगानीकर्ताले करिब आठ प्रतिशत र आत्मनिर्भर लघुवित्तका लगानीकर्ताले साढे ६ प्रतिशत लगानी गुमाएका छन् ।

आज कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्ष स्थानमा छ । सो कम्पनीको ८४ करोड ४९ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। कारोबार सेयर संख्याका आधारमा १४ लाख ७७ हजार कित्ता सेयर खरिद–बिक्री भएको अपी पावर शीर्ष स्थानमा छ।