बैंकिङ खबर/उच्च अदालत पाटनले रिलायन्स स्पिनिङ मिल्सको आईपीओ निष्कासन गर्ने बाटो खोलिदिएको छ । अधिवक्ताद्वय हरिबहादुर केसी र खुशलराम धितालले हालेको मुद्दामाथि सुनुवाइ गर्दै उच्च अदालत, पाटनले सोमबार अन्तरिम आदेश जारी नहुने आदेश दिएको हो ।
न्यायाधिश धुब्रराज नन्द र विदुर कोइरालाको इजालसले उक्त आदेश जारी गरेको हो । यसअघि गत असार २८ गते सोही अदालतले अन्तरिम आदेश जारी गर्दै आईपीओ निष्कासन जारी नगर्न आदेश दिएको थियो ।
उच्च अदालत पाटनमा काठमाडौं–४ का हरिबहादुर र नेपालगञ्ज–१३ का खुसलराम धितालले अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड, रिलायन्स स्पिनिङ मिल्स, एसएआर एशोसिएट्स चार्टड एकाउन्टेन्टलाई विपक्षी बनाएर उक्त कम्पनीले बुक विल्डिङ विधिकै दुरुपयोग गरी ठगी गर्ने मनसाय राखेको, चाटर्ड एकाउन्टेन्ट संस्थाले प्रमाणित गरेको विवरण अन्तरराष्ट्रिय लेखामान सिद्धान्त विपरित रहेकोलगायतका विषयहरू उठाउँदै आईपीओ निष्कासन रोक्न असार २५ गते निवेदन दिएका थिए ।
कम्पनीले बुक विल्डिङ विधिको दुरुपयोग गरेको, चालू आर्थिक वर्षको चैत मसान्तसम्मको लेखापरीक्षकले प्रमाणित गरेको अपरिष्कृत वित्तीय विवरण अन्तरराष्ट्रिय र राष्ट्रिय लेखामान सिद्धान्तको विपरीत रहेको र कम्पनीको अनुमानित प्रतिशेयर नेटवर्थ प्रक्षेपित विवरण र वास्तविकमा सामञ्जस्य नदेखिएको आरोप लगाउँदै मुद्दा दायर गरिएको थियो ।
अदालतका न्यायाधीस अन्जु उप्रेती ढकालले उक्त निवेदनमाथि सुनवाई गर्दै निवेदकले अन्तरिम आदेश माग गरेको विषयवस्तु हेर्दा दुवै पक्ष राखी छलफल गरेर मात्र निष्कर्षमा पुग्नुपर्ने देखिएकोले निवेदकलाई छलफलको लागि सोमबार पेशी तोकिएको थियो ।
अदालतले दुबै पक्षको कुरा सुन्दै सोमबार अन्तरिम आदेश दिन नपर्ने फैसला गरेको हो ।