
बैंकिङ खबर/ सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको एफपीओ बुधवार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक कुमारी क्यापिटलका अनुसार गत आइतबार प्रि अलोटमेन्ट सम्पन्न भएकाले बुधबार अन्तिम बाँडफाँट गर्ने तयारी छ ।
कम्पनीले प्रतिशेयर १०० रूपैयाँ अंकित मूल्यमा ४६ हजार ७२९ कित्ता एफपीओ साउन ४ गतेदेखि बिक्रीमा ल्याएको थियो । एफपीओमा १६ लाख ५९ हजारभन्दा बढीले आवेदन दिएका छन् । ती आवेदकहरूबाट २ करोड ३८ लाख ६३ हजारभन्दा बढी कित्ता एफपीओ खरिद माग भएको जानकारी समेत सिडिएससीले दिएको छ ।
जसअनुसार भाग्यमानी ४ हजार ६७२ जना आवेदकले १० कित्ताका दरले शेयर हात पार्नेछन् । यसरी बाँडफाँट गर्दा बाँकी रहेको ९ कित्ता शेयर भने ९ जना आवेदकले थप एक कित्ताका दरले प्राप्त गर्नेछन् ।
धितोपत्र दोस्रो बजारमा सोमबार कम्पनीको शेयरमूल्य प्रतिकित्ता १ हजार १२७ रूपैयाँ कायम छ । एफपीओ दोस्रो बजारमा सूचीकृतपश्चात् दोस्रो बजारमा कारोबार भैरहेकै मूल्यमा कारोबारमा आउनेछ । अहिलेकै मूल्यलाई लिएर आधारमान्दा कम्पनीको एफपीओ प्राप्त गर्ने लगानीकर्ताले पहिलो दिनमै ११ हजार रूपैयाँभन्दा बढी नाफा गर्नेछन् ।
कम्पनीको एफपीओ प्राप्त गर्ने लगानीकर्ताले पहिलो दिनमै त्यस्तो नाफामा मात्र नभएर अघिल्लो आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट वितरणका लागि प्रस्ताव गरिएको बोनस शेयरसमेत पाउने छन् ।
