बैंकिङ खबर/ बजारमा एकपछि अर्को सर्किट लागेको छ । कारोबार सुरु भएको एक मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतले बढेपछि सर्किट लागेको थियो । सर्किट लागेर २० मिनेट स्थगित भएको बजार पुनः सुरु भएको केही सेकेण्डमै ५ प्रतिशतले बढेपछि दोश्रो सर्किट लागेको छ ।
दोश्रो सर्किट लागेपछि ४० मिनेटका लागि कारोबार रोकिएको छ । अब ४० मिनेटपछि बजार खुलेर ६ प्रतिशतले बढेमा तेश्रो सर्किट लगाई आज दिनभरका लागि कारोबार स्थगित हुनेछ ।
दोश्रो सर्किट लागेसँगै नेप्से परिसूचक १२९.०७ अंकले बढेर २६९७.२१ को विन्दूमा पुगेको छ । यो दिन वाणिज्य बैंकहरुको सेयरमूल्यमा उछालको अवस्था देखिएको छ । अधिकांश वाणिज्य बैंकको मूल्यमा अपर सर्किट लागेको छ ।
शुक्रबार नेपाल राष्ट्रबैंकले मौद्रिक नीति ल्याएको थियो । मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाहरुको नाफा ह्वात्तै बढ्ने नीतिगत व्यवस्था गरिएको छ । यसबाट विगतमा कमजोर देखिएका बैंक तथा वित्तीय संस्थाहरुको नाफा बढ्ने र राम्रो लाभांश पाइने आशमा लगानीकर्ताहरुले खरीद बढाउँदा सर्किट लागेको हो ।