November 24th, 2016

भारुले विथोल्यो सेयर बजार : विक्रि गर्नेको लर्को (रिपोर्टसहित)

stockयो साता सेयर बजारमा ठूलो गिरावट देखियो । आइतबार र बुधबारको पहिरोले लगानीकर्ताको मनोबललाई कायम राख्न सकेन । साताको पहिलो दिनमा नै ८० अंकसम्मले घटेर पछि सम्हालिँदै ५८.०७ अंकको गिरावटमा कायम भयो । भारतले ५ सय र १ हजार दरका नोटमा प्रतिबन्ध लगाएदेखि नै गिरावटको क्रममा रहेको बजारमा आइतबार ५८ अंकको पहिरो जाँदा पनि एक अर्बको कारोबार भयो । सोमबार सामान्य अंकले बजार बढ्यो । तर, लगानीकर्ताको मनोबल भने खस्किएको देखियो । मंगलबार २३ अंकले घटेको बजारमा पुनः ४२.४६ अंकको पहिरो गएपछि लगानीकर्तामा निराशा छाउन थालेको छ । कारोबार रकम क्रमशः घट्दो क्रममा रहेको छ । 

सेयर बजार लगानीकर्ताको इच्छाशक्तिले निर्धारण गर्ने विश्लेषकहरु बताउँछन् । वरिष्ठ सेयर विज्ञ गोपाल भट्ट भन्छन्, ‘जब बजारमा परिवर्तन आउँछ, स्वभाविक रुपमा त्यसलाई लगानीकर्ताहरुले रियाक्ट गर्छन् । बजार बढिरहँदा लगानीकर्ताहरु उत्साहित भईरहेका हुन्छन् ।’ यहि समयमा नयाँ लगानीकर्ता पनि प्रवेश गर्छन् । तर, बजार बढेको देखेर सेयरमा लगानी गर्नेहरु बजार घट्नेवित्तीकै सेयर बेच्न थाल्छन् । बजारमा गिरावट आएसँगै लगानीकर्ता निरुत्साहित हुन थाल्छन् ।

नेपालमा सेयरमा लगानी गर्नेहरु धेरै छन् । तर, बुझेरै लगानी गर्नेहरु सीमित मात्रामा छन् । बजार घट्नेवित्तीकै सर्वस्व सकियो भनेर भएका सेयरहरु धमाधम बेच्ने लगानीकर्ताहरु धेरै छन् नेपाली सेयर बजारमा । यसले गर्दा बजारमा प्रभाव परिरहेको हुन्छ । पछिल्लो समयको सेयर बजारमा पनि त्यस्तै, अवस्था देखिएको छ । अरुको लहलहैमा लागेर वा अन्त लगानी गर्ने ठाउँ नपाएर सेयर किन्नेहरु सेयर बजार ओरालो लाग्दा सेयर बेच्न तयार भएका छन् । सेयर बजार बुझेका र धेरथोर विश्लेषण गर्न जानेकाहरुले भने सेयर मूल्य घटेको मौका पारेर थोरैथोरै गरी सेयर किनिरहेका छन् । यसले गर्दा, कारोबार रकम बढ्न नसकेपनि ठूलो परिमाणमा घटेको देखिएको छैन ।

सेयर विज्ञ भट्ट भन्छन्, ‘सबैले बजारमा लगानी गर्ने, आफुले लिएको सेयरको मूल्य बढ्यो भने प्रोफिट बूक गर्ने तर मूल्य घट्यो भने रिटर्न नेगेटिभ हुने बजार छ हामीकहाँ । स्टक मार्केटहरु विकसित भएका मुलकहरुमा बजार उकालो लागेपनि ओरालो लागेपनि लगानीकर्ताले प्रोफिट बूक गर्न सक्छ ।’ बजार बढ्दा मात्र नाफा हुने भन्ने गलत बुझाई कतिपय नेपाली सेयर लगानीकर्ताहरुमा रहेको उनको भनाइ छ । उनी भन्छन्, ‘घटेको बेला किन्ने र बढेको बेला बेच्ने गरियो भने घट्दा वा बढ्दा दुबै अवस्थामा लगानीकर्तालाई फाइदा नै हुन्छ ।’

सेयर बजार घट्नेवित्तीकै आत्तिनुभन्दा पनि बजार के कारणले घटेको छ र त्यसको असर कहिलेसम्म रहला भने विश्लेषण गर्ने तथा विज्ञहरुले गरेको विश्लेषण अध्यनन गर्ने गर्नु राम्रो हुन्छ । मुलुकका हरेक साना तथा ठूला निर्णयले सेयर बजारमा प्रभाव पारिरहेको हुन्छ । अहिलेको बजार हेर्ने हो भने, भारु नोटको प्रतिबन्धको प्रभाव अझै पनि नसकिएको जस्तो देखिन्छ । दुई साताभन्दा बढी समयदेखि भारु नोट सटहीको कुरा अन्यौलमा परेपछि सेयर लगानीकर्तामा पनि अन्यौलको स्थिती छ । आशा गरौँ, भारु नोट सटहीसम्बन्धि विषय दीर्घकालीन रुपमा टुंगो लाग्नेवित्तीकै सेयर बजारले उकालो गति लिनेछ ।