बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति आज सार्वजनिक गर्ने भएको छ । गभर्नर महाप्रसाद अधिकारीका अनुसार मौद्रिक नीति पास गर्न बिहान सञ्चालक समितिको बैठक बस्दैछ ।
राष्ट्र बैंक सञ्चालक समितिको अध्यक्ष स्वयम् गभर्नर अधिकारी नै हुन् भने समितिका सदस्यमा अर्थसचिव मधुकुमार मरासिनी, डेपुटी गभर्नरहरू निलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्र, पूर्व डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी, डा. शंकरप्रसाद आचार्य र रविन्द्रप्रसाद पाण्डे छन् । बैठकले पारित गरेसँगै मौद्रिक नीति सार्वजनिक हुनेछ ।
एक साताअघि नै सार्वजनिक हुने भनिएको मौद्रिक नीति रोकिएको थियो । मौद्रिक नीतिको मस्यौदा व्यवस्थापन समितिले पास गरिसकेकाले पुनः व्यवस्थापन समिति बैठक बस्ने छैन । सीधै सञ्चालक समितिले अनुमोदन गरेपछि शुक्रबार नै मौद्रिक नीति सार्वजनिक हुनेछ ।
गत शुक्रबार नै सार्वजनिक हुने भनिएको मौद्रिक नीतिमा प्रधानमन्त्रीको कार्यालयबाट ‘एकपल्ट हेर्ने’ कुरा आएपछि मुखैमा रोकिएकामा एक सातापछि सार्वजनिक हुने भएको हो ।