November 24th, 2016

साताको अन्तिम दिन पनि घटेरै बन्द भयो नेप्से : परिसूचक १५३४ अंकमा

stockसाताको अन्तिम दिन पनि सेयर बजार घटेरै बन्द भएको छ । यद्यपि, बुधबारको तुलनामा निकै कम अंकले घटेको छ । बुधबार ४२.४६ अंकको पहिरो गएको बजार विहिबार ६.०१ अंकको गिरावटसँगै १५३४ अंकमा पुगेर बन्द भएको छ । बीमा, जलविद्युत् र विकास बैंक समूहले विहीबारको बजार घटाएका छन् । यी समूहहरु क्रमशः २४६.९५, २१.०२ र १८.९३ अंकले घटेका छन् । उत्पादनमूलक समूह पनि ०.९५ अंकले घटेको छ । बैंकिङ, होटल, फाइनान्स र अन्य भने क्रमशः २.५, ४१.७९, १.२८ र १३.८८ अंकले बढेका छन् ।

बुधबारको तुलनामा कारोबार रकममा पनि गिरावट आएको छ । बुधबार एक अर्बमाथिको कारोबार भएको बजारमा विहीबार सवा ९९ करोड रुपैयाँको कारोबार भएको छ । दिनभरिमा एक सय ३६ वटा कम्पनीको १६ लाख छ हजार छ सय १८ कित्ता सेयर छ हजार दुई सय २८ पटक खरिदविक्रि हुँदा कुल ९९ करोड २५ लाख ७६ हजार छ सय ९२ रुपैयाँ पुँजी परिचालन भएको हो । 

कुल कारोबारमध्ये एभरेष्ट बैंकको १२ करोड ९५ लाख रुपैयाँको कारोबार भएको छ भने शिखर इन्स्योरेन्स कम्पनीको पाँच करोड ९५ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, मिसन डेभलपमेन्ट बैंक प्रोमोटरको पाँच करोड ८० लाख रुपैयाँको कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्स र बैंक अफ काठमाण्डू लुम्बिनीको चार करोडमाथिको कारोबार हुँदा सिद्धार्थ बैंकको तीन करोड ३८ लाखको कारोबार भएको छ । लुम्बिनी जेनेरल इन्स्योरेन्स, सिभिल बैंक, सानिमा माई हाइड्रो, एनएमबि बैंक लगायतको दुई करोडमाथिको कारोबार भएको छ । 

एनबी इन्स्योरेन्सका सेयरधनीले सबैभन्दा धेरै ९.५७ प्रतिशतका दरले सम्पत्ति बढाएका छन् भने अरुण फाइनान्सका सेयरधनीले ८.५५ प्रतिशतका दरले सम्पत्ति बढाएका छन् । ग्लोबल आईएमई समुन्नत स्किम १ र कन्काई विकास बैंकका सेयरधनीले क्रमशः ५.८७ र ५.४१ प्रतिशतका दरले कमाएका छन् भने लुम्बिनी फाइनान्सका सेयरधनीले ४.३८ र तारागाउँ रिजेन्सीका सेयरधनीले ३.७६ प्रतिशतका दरले कमाएका छन् । यसबाहेक, नेपाल दुरसञ्चार कम्पनी, सांग्रिला डेभलपमेन्ट बैंक, देवः विकास बैंक, लुम्बिनी जेनेरल इन्स्योरेन्स लगायतका सेयरधनीले पनि कमाएका छन् ।

वोमी माइक्रोफाइनान्सका सेयरधनीले सबैभन्दा धेरै ९.८१ प्रतिशतका दरले सम्पत्ति घटाएका छन् भने सिद्धार्थ डेभलपमेन्ट बैंक र कालिका माइक्रोक्रेडिटका सेयरधनीले क्रमशः ९.६६ र ९.४८ प्रतिशतका दरले गुमाएका छन् । रिलायन्स फाइनान्स, नेशनल लाइफ इन्स्योरेन्स, डिप्रोक्स डेभलपमेन्ट बैंक लगायतका सेयरधनीले पनि धेरै गुमाएका छन् ।