July 23rd, 2024

फेरि उठ्न थाल्यो एकल अंकको ब्याजदर मुद्दा

बैंकिङ खबर/ निजी क्षेत्रले फेरि एकल अंकको ब्याजदरको मुद्दा उठाएका छन् । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि मौद्रिक नीति ल्याउने तयारी गरिरहेका बेला निजी क्षेत्रले उक्त माग गरेको हो ।

निजी क्षेत्रले केही वर्षदेखि स्थायी रुपमै एकल अंकको ब्याजदर कायम हुनुपर्ने माग गर्दै आएको थियो । यसैक्रममा नेपाल चेम्बर अफ कमर्सले प्रधानमन्त्रीमार्फत फेरि एकल अंकको ब्याजदर कायम गर्न माग गरेको छ ।

चेम्बरका प्रतिनिधिले प्रधानमन्त्री केपी ओलीलाई सुझाव दिँदै उच्च अंकको आर्थिक वृद्धिका लागि स्थायी रुपमै एकल अंकको ब्याजदर कायम गर्नुपर्नेमा जोड दिएका छन् ।

ओली नेतृत्वको नयाँ सरकार आएपछि लचक मौद्रिक नीति ल्याउने दबाब बढिरहेको समयमा चेम्बरले औपचारिक रुपमै लबिङ गरेको हो । प्रधानमन्त्री ओली तथा अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक रुपमै लचिलो मौद्रिक नीति ल्याइने बताइरहेका छन् ।

मौद्रिक नीतिमाथि सुझाव दिन पछिल्लो पटक बसेको संसद्को अर्थ समिति बैठकमा नेपाली कांग्रेसका सांसद पूर्णबहादुर तामाङले ब्याजदर राष्ट्र बैंकले नै तोकिदिनुपर्ने बताएका थिए । अहिले ब्याजदर घटिरहे पनि ऋणीले त्यसको महसुस गर्न नसकेको भन्दै राष्ट्र बैंकले नै स्थायी रुपमा ब्याजदर तोक्नुपर्ने उनको तर्क थियो ।

जवाफमा गभर्नर महाप्रसाद अधिकारीले ब्याजदर राष्ट्र बैंकले नभई बजार आफैंले निर्धारण गर्ने बताएका थिए । राष्ट्र बैंकले ब्याजदर निर्धारण गर्न थालेमा त्यसले अहिलेको प्रणालीमा पूरै फेरबदल हुने उल्लेख गर्दै उनले त्यसतर्फ जान नहुने बताएका थिए ।