बैंकिङ खबर/ चालु आर्थिक वर्ष २०८१/८२ को साउन महिना लागेसँगै बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप घट्न थालेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार साउनको १ र २ गते मात्रै बैंक तथा वित्तीय संस्थाको निक्षेप २९ अर्ब रुपैयाँले घटेको छ ।
गत असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थामा ६४ खर्ब ९३ अर्ब रुपैयाँ निक्षेप थियो । साउन १ गते त्यो १८ अर्ब रुपैयाँले घटेर ६४ खर्ब ७५ अर्ब रुपैयाँमा झरेको थियो । साउन २ गते थप ११ अर्ब रुपैयाँले घटेर त्यो ६४ खर्ब ६४ अर्बमा सिमित भएको राष्ट्र बैंकले जनाएको छ ।
समीक्षा अवधिमा वाणिज्य बैंकहरुमा भएको निक्षेप मात्रै २६ अर्ब रुपैयाँले घटेको छ । असार मसान्तमा २० वाणिज्य बैंकमा ५७ खर्ब ५५ अर्ब रुपैयाँ निक्षेप थियो । त्यो साउन १ गते ५७ खर्ब ३९ अर्ब र साउन २ गते ५७ खर्ब २९ अर्ब रुपैयाँमा सिमित भएको छ ।
अन्य बैंक तथा वित्तीय संस्थाको निक्षेप भने दुई दिनमा तीन अर्ब रुपैयाँले घटेको छ । असार मसान्तमा अन्य बैंक तथा वित्तिय संस्थामा सात खर्ब ३८ अर्ब निक्षेप थियो । त्यो साउन १ गते सात खर्ब ३६ अर्ब रुपैयाँ र साउन २ गते सात खर्ब ३५ अर्ब रुपैयाँमा सिमित भएको देखिन्छ ।
दुई दिनमा बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह २५ अर्ब रुपैयाँ रहेको छ । गत असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको कुल कर्जा प्रवाह ५१ खर्ब ६९ अर्ब थियो । त्यो साउन १ गते ५१ खर्ब ५२ अर्ब र साउन २ गते ५१ खर्ब ४४ अर्बमा सिमित भएको छ ।
त्यसमा वाणिज्य बैंकको मात्रै २२ अर्ब रुपैयाँले घटेको छ । असार मसान्तसम्म वाणिज्य बैंकले कुल ४५ खर्ब ७१ अर्ब कर्जा प्रवाह गरेका थिए । त्यो साउन १ गते ४५ खर्ब ५६ अर्ब र साउन २ गते ४५ खर्ब ४९ अर्ब रुपियाँमा सिमित भएको छ ।