July 21st, 2024

बिचौलिया सक्रिय हुँदा धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्न सकिएन : निवर्तमान अर्थमन्त्री

बैंकिङ खबर/ निवर्तमान अर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको प्रक्रियामा हालका प्रधानमन्त्री केपी ओलीले बिचौलियालाई साथ दिएको बताएका छन् ।

आइतबार संसदमा प्रधानमन्त्री ओलीले मागेको विश्वासको मतसम्बन्धी प्रस्तावमा बोल्दै उनले धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा बिचौलियाले व्यापक चलखेल गरेको र त्यसमा ओलीले उनीहरुलाई साथ दिएको बताए ।

आफूभन्दा अघि अर्थमन्त्री भएका नेपाली काँग्रेस नेता डा प्रकाशशरण महत र आफूले बिचौलियाको चलखेलले धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्न नसकेको भन्दै उनले नयाँ अर्थमन्त्री विष्णु पौडेलले के गर्छन् त्यो भने हेर्ने बताए ।

उनले भने, ‘धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्न मभन्दा अगाडिको अर्थमन्त्रीले निकै कोसिस गर्नुभयो । सक्नु भएन । मैले पनि धेरै प्रयास गरें तर सकिंन । अब अहिलेको अर्थमन्त्रीलाई त्यो जिम्मेवारी आएको छ ।’

साथै उनले देश नेताहरुले नभई बिचौलियाहरुले चलाउने खतरा बढेको पनि बताएका छन् ।