बैंकिङ खबर/पछिल्लो एक सातामा धितोपत्रको दोस्रो बजारमा कारोबारका लागि ५ हजार २०० ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) खाता खोलिएको छ। एक हप्तामा ५ हजार २०० नयाँ टीएमएस खाता खोलिएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएकाे छ । टीएमएसले लगानीकर्तालाई ब्रोकर र नेप्सेसँग जोड्छ । धितोपत्रको दोस्रो बजारमा लगानीकर्ताले अनलाइनबाट शेयर किनबेचको आदेश दिन टीएमएस खाता खोल्नुपर्छ ।
नेप्सेका अनुसार असार मसान्तसम्म २२ लाख ५८ हजार ४१० टीएमएस खाता खोलिएकोमा त्यसयता ५ हजार २०० नयाँ खाता थपिएका हुन् । हप्ताको शुरूमा नयाँ सरकार बनेपछि शेयरबजारको तथ्यांकीय सूचक (नेप्से) निरन्तर उकालो लागेको बेला नयाँ टीएमएस खाता थपिएका हुन् । बिहीबार पनि नेप्से ५९ दशमलव ६८ अंकले बढेर २ हजार ४२४ दशमलव ३२ बिन्दुमा पुगेको छ ।
पछिल्लो समय करीब २ लाख हाराहारी सक्रिय लगानीकर्ताले दोस्रो बजारमा कारोबार गरिरहेको ब्रोकरहरूको अनुमान छ । लगानीकर्ताको रोजाइमा यतिबेला कम मूल्यका शेयर परेको ब्रोकर बताउँछन् । धितोपत्र किनबेचका लागि हालसम्म ६३ लाख १५ हजारभन्दा बढी हितग्राही खाता (डिम्याट ) खोलिएका छन् । डिम्याट र टीएमएस खाताको अवस्था हेर्दा अझै ४० लाखभन्दा धेरै लगानीकर्ता दोस्रो बजारमा प्रवेश गर्न बाँकी छ । तर, एकै व्यक्तिका एकदेखि तीनओटासम्म डिम्याट खाता रहेको अनुमान छ । यस हिसाबले १८ लाख हाराहारी डिम्याट खाता निष्क्रिय अवस्थामा रहेको सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले जानकारी दिएको छ ।