July 19th, 2024

मौद्रिक नीतिमा राष्ट्र बैंकमाथि कुनै हस्तक्षेप हुँदैन : अर्थमन्त्री

बैंकिङ खबर/ उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल राष्ट्र बैंकलाई मौद्रिक नीति ल्याउन हस्तक्षेप नगरेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) का पदाधिकारीहरुसँगको भेटमा उनले राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिमा अर्थमन्त्रालयले हस्तक्षेप गर्न नमिल्ने बताएका हुन् ।

उनले मौद्रिक नीति राष्ट्र बैंकको क्षेत्राधिकार भित्रको विषय भएकाले अर्थमन्त्रालयले हस्तक्षेप गर्न नमिल्ने बताए । उनले राष्ट्र बैंकले राम्रो मौद्रिक नीति ल्याउने तयारी गरेकाले शुक्रबार रोकिएको जानकारी आएको बताए । उनले राष्ट्र बैंकले छिट्टै राम्रो मौदिक नीति ल्याउने विश्वास रहेको बताए । उनले राष्ट्र बैंक स्वायत्तता संस्था भएकाले क्षेत्राधिकार प्रयोग गर्ने विषयमा हस्तक्षेप हुनुहुँदैन भन्ने आफ्नो मान्यता रहेको बताए ।

उनले सहकारी क्षेत्रमा समस्या लामो समयदेखि झाँगिदै जाँदा अहिले बाहिर आएको बताए । उनले सहकारी समस्या आयो भन्दैमा सहकारी चाहिँदैन भन्ने ठाउँमा पुग्न नहुने बताए । उनले सहकारी आवश्यक भएकाले कमजोर हुन दिनेगरी समस्याको गहिराइमा गएर सरकारले सहकारीका समस्या समाधान गर्ने बताए । उनले बचत तथा ऋण सहकारी संस्थाका बचत कर्ताको बचत संरक्षण गरी समस्या समाधान गर्नुपर्ने अवस्था रहेको बताए ।

अर्थतन्त्रमा देखिएका समस्याको एक–एक गरेर समस्या समाधान गर्ने तयारीमा सरकार रहेको अर्थमन्त्रीको भनाई छ । उनले सहकारी, भुक्तानी लगायत समग्र अर्थतन्त्रका समस्या समाधान गर्दै जाने बताए । अर्थमन्त्री पौडेलले सरकारले समस्या सिर्जना भन्दा पनि किस्ता–किस्तामा समस्या समाधान गरी सापेक्षित रुपमा राजनीति स्थिरता कायम गर्ने र आर्थिक एजेण्डामा केन्द्रित भएर जाने जानकारी दिए ।