July 19th, 2024

बैंकहरुको निक्षेप ६५ खर्ब नजिक

बैंकिङ खबर/  बैंकिङ प्रणालीमा करिब ६५ खर्ब रुपैयाँ निक्षेप थुप्रिएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार साउन १ गते बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ६४ खर्ब ९३ अर्ब रुपैयाँ पुगेको छ।

अघिल्लो दिनसम्म कुल निक्षेप ६४ खर्ब ८२ अर्ब रुपैयाँ थियो। यो एक दिनमा बैंकहरुको निक्षेप ११ अर्ब रुपैयाँले बढेको छ। वाणिज्य बैंकहरुको निक्षेप पनि साउन १ मा बढेर ५७ खर्ब ५५ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिनसम्म वाणिज्य बैैंकहरुको कुल निक्षेप ५७ खर्ब ५१ अर्ब रुपैयाँ थियो।

साउन १ मा एकैदिन बैंक तथा वित्तीय संस्थाहरुबाट ९ अर्ब कर्जा प्रवाह भएको देखिन्छ। अघिल्लो दिनसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा लगानी ५१ खर्ब ६० अर्ब रुपैयाँ रहेकोमा साउन १ मा बढेर ५१ खर्ब ६९ अर्ब रुपैयाँ पुगेको छ।

साउन १ मा बैंक तथा वित्तीय संस्थाको औसत सीडी रेसियो थोरै बढेर ७७.६७ प्रतिशत पुगेको छ। अघिल्लो दिन औसत सीडी रेसियो ७७.६१ प्रतिशत थियो। अन्तरबैंक ब्याजदर भने २.९६ प्रतिशत रहेको छ।