July 17th, 2024

आईपीओ निष्कासनको तयारीमा सात लघुबीमा

बैंकिङ खबर/ सात लघुबीमा कम्पनी आईपीओ निष्कासन प्रक्रियामा रहेका छन् । नेपाल बीमा प्राधिकरणले सातओटा कम्पनीलाई लघुबीमा कम्पनीको लाइसेन्स वितरण गरेको थियो ।

प्राधिकरणले तीन लघुजीवन बीमा र चार निर्जीवन लघुबीमा कम्पनीलाई लाइसेन्स दिएको थियो । हाल लघुबीमा कम्पनीहरुको चुक्तापूँजी ७५ करोड रुपैयाँ छ । लघुबीमा कम्पनीले कम्तीमा ३० प्रतिशत शेयर सर्वसाधारणमा जारी गर्नुपर्ने नियम छ ।

नियमअनुसार प्रत्येक लघुबीमा कम्पनीले चुक्तापूँजीको न्यूनतम ३० प्रतिशत शेयर सर्वसाधारणमा जारी गर्दा प्रत्येक कम्पनीले २२ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ जारी गर्नुपर्नेछ । यस आधारमा ७ कम्पनीको कुल १ करोड ५७ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्नेछन् ।

लघु जीवन बीमा तर्फ क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओे निष्कासन गर्नका लागि बिक्री प्रबन्धक नियुक्त गरिसकेका छन् ।

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्नका लागि बिक्री प्रबन्धकमा कुमारी क्यापिटललाई नियुक्त गरेको हो ।

त्यस्तै क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले पनि साढे २२ लाख अर्थात २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्ने तयारीमा रहेको हो । उक्त आईपीओ निष्कासन गर्नका लागि कम्पनीले विक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटललाई नियुक्त गरेको छ ।

यी कम्पनीले अव आवश्यक प्रक्रिया पुरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएर स्वीकृती पाएपछि आईपीओ निष्कासन गर्नेछन् । लघु जीवनबीमा व्यवसायतर्फ गार्डियन माइक्रो लाइफ इन्स्योरन्स, क्रेष्ट माइत्रो लाइफ इन्स्योरेन्स र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले लघुबीमाको लाइसेन्स पाएका थिए ।

त्यस्तै, लघु निर्जीवन बीमा व्यवसायतर्फ ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनी, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, स्टार माइक्रो इन्स्योरेन्स कम्पनी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले लघु बीमाको लाइसेन्स पाएका थिए ।