बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुको अन्तर्राष्ट्रिय लेखापरीक्षणका लागि प्रस्ताव पेश गर्ने अवधि पुनः दोस्रो पटक थप गरेको छ ।
आशयपत्र पेश गरेर सर्टलिस्ट भएका योग्य ५ आवेदकलाई राष्ट्र बैंकले प्रस्ताव पेश गर्न भनेको थियो । राष्ट्र बैंकको रिक्वेस्ट फर पर्पोजल (आरएफपी) सूचना अनुसार अनलाइन प्रस्ताव माध्यमबाट पेश गर्नुपर्ने हुन्छ ।
सार्वजनिक खरिदको कानूनी प्रबन्धअनुसार यस्तो कबोल प्रस्ताव सार्वजनिक खरिद कार्यालयको संरचनाअनुसार गर्नुपर्ने हुन्छ । तर, राष्ट्र बैंकले तयार पारेको आह्वानमा त्रुटि भएकाले प्रस्ताव प्राप्त हुन सकेको छैन ।
सो कारण प्रस्ताव पेश गर्ने अवधि दोस्रोपल्ट थप गरिएको हो । यस अघि देशका १० ठूला बैंकको लेखापरीक्षण गर्न सर्टलिस्टमा परेका विदेशी अडिटरले प्रस्ताव पेश नगरेपछि असार २१ गते समय थपिएको थियो । सो सूचनाअनुसार असार ३१ गतेसम्म प्राविधिक प्रस्ताव पेश गर्ने समय थियो । प्राविधिक त्रुटि भएपछि मंगलबार पुनः प्रस्ताव पेश गर्ने समय थप गरिएको राष्ट्र बैंकले जनाएको छ ।
नेपाल राष्ट्र बैंकले आरएफपीअनुसार योग्य आवेदकबाट प्रस्ताव अनलाइन माध्यमबाट पेश गर्नुपर्ने तर प्राविधिक समस्या आएकाले दोस्रोपल्ट समय थप गरिएको जनाएको छ । दोस्रोपल्ट समय थप गरिएसँगै बैंकहरुको लेखापरीक्षण कार्य सुरु पनि केही कम्तिमा १ महिना पछि सरेको छ ।
केन्द्रीय बैंकले गत चैत ८ गते अडिटर नियुक्त गर्ने गरी आशयपत्र मागको सूचना निकालेको थियो । यस्तै वैशाख १८ गते योग्य अडिटरको नाम सार्वजनिक गर्दै उनीहरुबाट प्रस्ताव माग गरेको थियो ।
केन्द्रीय बैंकले मागेको आशयपत्रअनुसार आवेदन दिएका लेखापरीक्षकमध्ये राष्ट्र बैंकले ५ कम्पनी/जेभीको नाम सर्टलिस्ट गरेको थियो । सर्टलिस्टमा परेकामध्ये दुईवटाले नेपाली कम्पनीसँग ज्वाइन्ट भेन्चर (जेभी) गरेका छन् । अन्य ३ वटाले एकल दावेदारी दिएका थिए ।
सर्टलिस्ट हुनेहरु नेदरल्यान्डस्को डेलोइट फाइनान्सियल एड्भाइजरी, भारतको केपीएमजी एस्योरेन्स एन्ड कन्सल्टिङ सर्भिसेज र पाकिस्तानको केपीएमजी एन्ड कम्पनी रहेका छन् ।
यसैगरी सीएससी एन्ड कम्पनी जेभी र एसआरबीए एन्ड बीके अग्रवाल चार्टर्ड एकाउन्टेन्टस् जेभी पनि सर्टलिस्टमा परेका छन् ।
सरकारले अन्तरराष्ट्रिय मुद्रा कोषसँग गरेको प्रतिबद्धता अनुसार नेपाल राष्ट्र बैंकले तेस्रो पक्षमार्फत् बढी कर्जा प्रवाह गर्ने नेपालका शीर्ष १० वाणिज्य बैंकको लोन पोर्टफोलियो रिभ्यू गर्दैछ ।