July 14th, 2024

बैंक तथा वित्तीय संस्थाहरुमा बीमा कम्पनीको लगानी १६ प्रतिशतले बढ्यो

बैंकिङ खबर/ चालु आर्थिक वर्षको ११ महिना(साउन–जेठ)सम्म बैंक तथा वित्तीय संस्थाहरुमा बीमा कम्पनीहरुको लगानी १६ प्रतिशतले बढेको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार बीमा (जीवन, निर्जीवन, पुनर्बीमा, लघु जीवन र लघु निर्जीवन) कम्पनीहरुको बैंकहरुमा लगानी १६.३ प्रतिशतले बढेको हो। चालु आर्थिक वर्षको जेठसम्म मुद्दति निक्षेपका रुपमा बैंकहरुमा बीमा कम्पनीहरुको लगानी बढेर ५ खर्ब ८१ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ।

गत वर्ष असार मसान्तसम्म बैंकहरुमा बीमा कम्पनीहरुको ५ खर्ब १५ करोड रुपैयाँ लगानी रहेको थियो। यो ११ महिनाको अवधिमा बीमा कम्पनीहरुको बैंकहरुमा लगानी ८१ अर्ब ३४ करोड रुपैयाँले बढेको छ।

यसैगरी यो ११ महिनाको अवधिमा कर्मचारी सञ्चय कोषको मुद्दति निक्षेपका रुपमा बैंकहरुको लगानी ३२.३ प्रतिशतले बढेर १ खर्ब ७६ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ।

गत वर्ष असारसम्म बैंकहरुमा कर्मचारी सञ्चय कोषको कुल लगानी १ खर्ब ३३ अर्ब ७३ करोड रुपैयाँ रहेको थियो। सञ्चय कोषको लगानी ११ महिनामा ४३ अर्ब २१ करोड रुपैयाँले बढेको छ।

चालु आर्थिक वर्षको जेठसम्म नागरिक लगानी कोषको बैंकहरुमा लगानी १४.९ प्रतिशतले बढेर १ खर्ब १४ अर्ब ३० लाख रुपैयाँ पुगेको छ। गत वर्ष असारसम्म बैंकहरुमा नागरिक लगानी कोषको ९९ अर्ब ४८ करोड रुपैयाँ थियो।

जेठसम्म व्यक्तिगत निक्षेपको आकार पनि १० प्रतिशतले बढेको छ। गत वर्ष असार मसान्तसम्म व्यक्तिगत निक्षेपका रुपमा बैंकहरुमा ३५ खर्ब ५९ अर्ब ५४ करोड रुपैयाँ रहेकोमा जेठ मसान्तसम्म बढेर ३९ खर्ब १४ अर्ब १८ करोड रुपैयाँ पुगेको छ।