बैंकिङ खबर/धितोपत्र बजार पुँजीकरण १२.१७ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार चालु आर्थिक वर्षको ११ महिनासम्ममा धितोपत्र बजार पुँजीकरण १२.१७ प्रतिशतले वृद्धि भई ३३ खर्ब ४९ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ ।
गत वर्षको यस अवधिसम्म धितोपत्र बजार पुँजीकरण २९ खर्ब ८६ अर्ब २० करोड रुपैयाँ रहेको थियो । २०८१ जेठ मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २७० पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १३२ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ९१ जलविद्युत् कम्पनी, २२ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका रहेका छन् । २०८० जेठमा सूचीकृत कम्पनीहरूको संख्या २५४ रहेको थियो ।
सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५८.३ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत्कम्पनीको हिस्सा १५.० प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.२ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ६.७ प्रतिशत, होटेलको हिस्सा २.९ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ९.४ प्रतिशत रहेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०८१ जेठ मसान्तमा सूचीकृत ८ अर्ब ३१ करोड शेयरको चुक्ता मूल्य रु.८२३ अर्ब ३१ करोड रहेको छ । आर्थिक वर्ष २०८०/८१ को एघार महिनामा रु.८६ अर्ब ८१ करोड बराबरको साधारण शेयर, रु.२१ अर्ब ९८ करोड बराबरको बोनस शेयर, रु.२१ अर्ब १७ करोड बराबरको हकप्रद शेयर र रु.३ करोड बराबरको एफपीओ गरी कुल रु.१२९ अर्ब ९८ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन्।
समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले रु.९ अर्ब ८० करोड बराबरको साधारण शेयर, रु.६ अर्ब २ करोड बराबरको डिबेन्चर, रु.५ अर्ब ४६ करोड बराबरको हकप्रद शेयर र रु.४ अर्ब ७० करोड बराबरको म्युचुअल फण्ड गरी कुल रु.२५ अर्ब ९८ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।