July 10th, 2024

५ प्रतिशतले बढ्यो कर्जा प्रवाह, ६८ प्रतिशतको धितो घर/जग्गा

बैंकिङ खबर/ चालू आवको जेठ मसान्तसम्म कर्जा प्रवाह ५.१ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा १ खर्ब ५७ अर्ब ३६ करोड रुपैयाँ प्रवाह भएकोमा चालू आवमा २ खर्ब ४६ अर्ब ८० करोड रुपैयाँको कर्जा प्रवाह भएको हो।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय विवरणमा कर्जा प्रवाह ५.१ प्रतिशतले बढेको उल्लेख गरेको हो । यस्तै वार्षिक विन्दुगत आधारमा २०८१ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ५.६ प्रतिशतले बढेको छ।

२०८१ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३.५ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६.५ प्रतिशत रहेको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६२.६ प्रतिशत र ३७.४ प्रतिशत रहेको थियो। यो अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ५.२ प्रतिशतले, विकास बैंकहरुको ४.३ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह ६.७ प्रतिशतले बढेको छ।

२०८१ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये १२ प्रतिशत कर्जाको लागि चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) सुरक्षणको रुपमा रहेको छ भने ६८.५ प्रतिशत कर्जाको लागि घर जग्गा धितो सुरक्षण रहेको छ।

२०८० जेठ मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ११.६ प्रतिशत र ६८.० प्रतिशत रहेको थियो।