July 9th, 2024

प्रभु इन्स्योरेन्सले ५०.१५% हकप्रद निष्कासन गर्ने

बैंकिङ खबर/ प्रभु इन्स्योरेन्सले हकप्रद शेयर निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ। सो कार्यका लागि कम्पनीले गत असार १९ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ।

२८ औं वार्षिक साधारण सभाबाट ५०.१५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित भएको करिब दुई महिनापछि कम्पनीले हकप्रद शेयर निष्कासनको अनुमति माग गर्दै धितोपत्र बोर्डमा निवेदन दिएको हो।

यसअघि सभाले नेपाल बीमा प्राधिकरणले तोकेबमोजिमको चुक्तापूँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्‍याउन र आर्थिक वर्ष २०७९/०८० का लागि स्वीकृत ४.५ प्रतिशत बोनस शेयर वितरणपछि कायम हुने चुक्तापूँजीको ५०.१५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो।

धितोपत्र बोर्डले अनुमति दिए पछि कम्पनीले ५०.१५ प्रतिशत हकप्रद निष्कासन गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित मूल्यको कुल ८३ लाख ५० हजार १३५.४४ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ ।कम्पनीको हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल छ।