July 7th, 2024

रिलायन्स स्पिनिङको मुनाफा ९७% ले घट्यो

बैंकिङ खबर/ असार २७ देखि वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारलाई आईपीओ निष्कासन गर्न लागेको गोल्यान समुहको लगानी रहेको रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको खराब वित्तीय अवस्था देखिएको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रतिवेदन अनुसार कम्पनीको खुद मुनाफामा ९७.१६ प्रतिशतको भारी गिरावट आएको हो । विसं २०८० चैत मसान्तसम्म कम्पनीले २ करोड ६३ लाख २३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जबकी गत आवको सोही अवधिमा कम्पनीको मुनाफा ९२ करोड ७८ लाख २१ हजार रुपैयाँ रहेको थियो । एक वर्षको अवधिमा कम्पनीको मुनाफा ९० करोड १४ लाख ९८ हजार रुपैयाँले घटेको हो । व्यापारमा गिरावट आउँदा त्यसको सोझोे असर खुद नाफामा परेको हो ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरणमा कम्पनीको बिक्री आय ३० प्रतिशतभन्दा धेरैले घटेको छ । गत आवको तेस्रो त्रैमाससम्म १० अर्ब ५८ लाख बढीको मालबवस्तु बिक्री गरेको सो कम्पनीले चालु आवको सोही अवधिमा ७ अर्ब २१ लाखको मात्र बिक्री गरेको हो । यस्तै कम्पनीको अन्य आय पनि समीक्षा अवधिमा ४२.७० प्रतिशतले घटेर २ करोड १४ लाख ७६ हजारमा संकुचित बनेको छ ।

बिक्री खर्च घटेपनि नाफा बढ्न सकेको छैन बरु उल्टै उच्च घटेको छ । गत अवको ९ महीनामा १९ करोड १५ लाख धेरै खर्च सामान बिक्रीमा गरेकोमा चालु आवको सोही अवधिमा ८ करोड ६७ लाख मात्र रहेको छ । जुन गत आवको तुलनामा ५४.६९% कम हो । समीक्षा अवधिमा वित्तीय खर्च २४ करोड ९० लाखबाट ४९.९६% बढेर ३७ करोड ३३ लाख ९८ हजार रुपैयाँ पुगेको छ ।

आइपीओ निष्काशनको अन्तिम तयारीमा रहेको कम्पनीको खराब वित्तीय प्रदर्शनले बुक बिल्डिङ्गबाट महङ्गो मूल्यमा सेयर बिक्री गर्न लागेको कम्पनीको उक्त सार्वजनिक निष्कासनमा धक्का लाग्नसक्ने देखिएको हो ।

चुक्ता पुँजी १ अर्ब ७० करोड ७३ लाख ४० हजार रुपैयाँ रहेको रिलायन्स स्पिनिङ मिल्सको आम्दानी र मुनाफामा आउको उच्च गिरावटले कम्पनीको वार्षिक प्रतिसेयर आम्दानीमा पनि उच्च गिरावट देखिएको छ । गत आवको चैतमा वार्षिक प्रतिसेयर आम्दानी ५४ रुपैयाँ ३४ पैसा रहेको उक्त कम्पनीको इपीएस ५२ रुपैयाँ २६ पैसाले घटेर २ रुपैयाँ ८पैसा कायम भएको छ । कम्पनीको सेयरधनीलाई वितरण गर्ने कोष (अन्य इक्विटी) मा ५ अर्ब ३२ करोड १६ लाख रुपैयाँ सञ्चित छ । गत आवको सोही अवधिमा सो कोषमा ५ अर्ब ६३ करोड ६७ लाख थियो । एक वर्षमा अन्य इक्वीटी ३१ करोड ५१ लाख ४५ हजार रुपैयाँ बढीले घटेको छ ।