बैंकिङ खबर/पछिल्लो समय नेपालमा ग्रामीण क्षेत्रहरुमा समेत डिजिटल बैंकिङको पहुँच बढ्दै गएको पाइएको छ । सुदूरपश्चिम, कर्णाली प्रदेशमा पनि लाखौंको संख्यामा मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ क्रेडिट कार्ड, डेबिट कार्डलगायतमा डिजिटल उपकरण प्रयोगकर्ता बढ्दै गएका छन्। डिजिटल बैंकिङ प्रविधिमा बागमती अगाडि र कर्णालीमा कम नै छ।
नेपाल राष्ट्र बैंकको वित्तीय क्षेत्र स्थायित्व प्रतिवेदनमा दुर्गममा डिजिटल बैंकिङ फैलिँदै गएको देखाएको हो । प्रतिवेदनअनुसार दुर्गम क्षेत्रमा पनि पुरुषमा ६ प्रतिशत र ४ प्रतिशत महिलाहरूले डिजिटल भुक्तानीको प्रयोग गरेका छन्।
राष्ट्र बैंकको प्रादेशिक आर्थिक गतिविधि अध्ययन आर्थिक वर्ष २०८०/०८१ को अर्ध–वार्षिक प्रतिवेदनअनुसार मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा छ। जहाँ ७६ लाख १७ हजार ५ सय ९५ ले मोबाइल बैंकिङ चलाउँछन्। तर सबैभन्दा कम मोबाइल बैंकिङ प्रयोग गर्ने कर्णाली प्रदेशमा पनि ५ लाख ९२ हजार ९ सय ३६ को पहुँचमा यो प्रविधि पुगेको छ। यस्तै, मधेस प्रदेशमा मोबाइल बैंकिङ प्रयोगकर्ता २० लाख ७० हजार १ सय १४ रहेका छन्।
यस्तै, कोशी प्रदेशमा २८ लाख, गण्डकीमा २२ लाख, १८ हजार, लुम्बिनी प्रदेशमा १० लाख २८ हजार र सुदूरपश्चिममा १२ लाख २ हजार हाराहारीमा मोबाइल बैंकिङका प्रयोगकर्ता रहेका छन्।
नेपाल राष्ट्र बैंकले चालु आवको १० महिना (वैशाख)सम्म सार्वजनिक गरेको तथ्यांकले अनुसार वाणिज्य बैंक, विकास र वित्त कम्पनीको मोबाइल बैंकिङ प्रयोगकर्ता मुलुकभर २ करोड ३७ लाख ९७ हजार हाराहारीमा रहेको उल्लेख गरेको छ।
यस्तै, इन्टरनेट बैंकिङ प्रयोगकर्ता पनि सबैभन्दा बढी बागमती प्रदेशमा छन्। जहाँ ७ लाख ९४ हजार २ सय १२ ले इन्टरनेट बैंकिङ कारोबार गरेका छन्। सबैभन्दा कम कर्णाली प्रदेशमा पनि १४ हजार ४ सय ७८ ले इन्टरनेट बैंकिङ प्रयोग गर्छन्।
यसैगरी क्रमशः इन्टरनेट बैंकिङ प्रयोगकर्ता मधेस प्रदेशमा १ लाख १७ हजार १ सय ९३, कोशी प्रदेशमा १ लाख ७० हजार, गण्डकीमा २ लाख ११ हजार, लुम्बिनी प्रदेशमा २ लाख ४९ हजार र सुदूरपश्चिममा ४४ हजार हाराहारीले इन्टरनेट बैंकिङ प्रयोग गरेका छन्। केन्द्रीय बैंकले चालु आवको वैशाखसम्म सार्वजनिक गरेको तथ्यांकले भने वाणिज्य बैंक, विकास र वित्त कम्पनीको इन्टरनेट बैंकिङ प्रयोगकर्ता मुलुकभर १९ लाख ३८ हजार हाराहारीमा रहेको उल्लेख गरेको छ।