July 5th, 2024

धितोपत्र बोर्ड अध्यक्ष छनोट प्रक्रियालाई निरन्तरता दिन सर्वोच्चको आदेश

बैंकिङ खबर/ सर्वोच्च अदालतले नेपाल धितोपत्र बोर्ड अध्यक्ष छनोट प्रक्रियालाई निरन्तरता दिन आदेश दिएको छ । शुक्रबार न्यायाधीश सपना प्रधान मल्ल र बालकृष्ण ढकालको इजलासले उक्त आदेश दिएको हो ।

अध्यक्षका लागि कार्य मूल्यांकन प्रस्तुती दिएका एक सन्तोष नारायण श्रेष्ठले दायर गरेको रिटमा १८ गते न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

अन्तरिम आदेश प्रयोजनका लागि शुक्रबार दुवै पक्षलाई बोलाइएको थियो । अध्यक्ष नियुक्तिका लागि मुख्य ५ मा छानिएका श्रेष्ठले यो प्रक्रिया रद्द गर्न नमिल्ने भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। पाँच जना उम्मेदवार मध्ये तीन जना अन्तरवार्ता तथा प्रस्तुतीकरणमा सहभागी नभएपछि सरकारले यो प्रक्रिया रद्द गरेको थियो।

कानूनी व्यवस्था अनुसार कम्तिमा तीन जनाको नाम समितिले सिफारिस गर्नुपर्ने भएपछि नियुक्ति प्रक्रिया रद्द गरिएको थियो । प्रक्रिया रद्द भएपछि सर्टलिस्टमा परेर कार्यपत्र र कार्ययोजना प्रस्तुत गरेका श्रेष्ठ रिट लिएर सर्वोच्च पुगेका थिए। अब छनोट समितिले दुई जनामध्ये एक जनालाई नै मन्त्रीपरिषद्मा सिफरिस गर्ने सम्भावना बढेको छ ।