July 5th, 2024

कर्जा लगानी बढाउने गरी मौद्रिक नीति ल्याउन राष्ट्र बैंकलाई सुझाव


बैंकिङ खबर/ नेपाल राष्ट्र बैंक यतिबेला आगामी आर्थिक वर्षको मौद्रिक नीति निर्माणको तयारीमा जुटेको छ । राष्ट्र बैंकले विभिन्न क्षेत्रसँग सल्लाह सुझाव मागेको छ भने अन्तरक्रिया समेत गरेर सुझावहरु समेटि रहेको छ ।

यसैबीच राष्ट्र बैंकले मौद्रिक नीतिका तर्जुमाको लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । अन्तरक्रियामा आगामी आर्थिक वर्षको मौद्रिक नीति कर्जा विस्तार बढाउने गरी खुकुलो बनाउन सरोकारवालाहरुले सुझाव दिएका छन् ।

राष्ट्र बैंकले निजी क्षेत्रका व्यवसायी, बैंकर र अन्य सरोकारवालालाई समेत बोलाएर मौद्रिक नीति तर्जुमाको लागि छलफल गरेको थियो। सो छलफलमा व्यवसायीहरुले राष्ट्र बैंकले आगामी वर्ष अर्थतन्त्र चलायमान बनाउने गरी खुकुलो मौद्रिक नीति ल्याउनुपर्ने सुझाव दिएका छन्।

राष्ट्र बैंकले कर्जामा गरेको कडाइले गर्दा अर्थतन्त्रमा समेत असर गरेको भन्दै व्यवसायीहरुले कर्जा लगानी बढ्ने गरी मौद्रिक नीति तर्जुमा गर्नुपर्ने धारणा राखेका हुन्।

अहिले राष्ट्र बैंकले चालु पूँजी कर्जा, रियलस्टेट कर्जा, शेयरधितो कर्जा, ओभरड्राफ्ट कर्जा लगायतमा गरेको कडाइले गर्दा कर्जा लगानी बढ्न सकेको छैन। यसै कारण व्यवसायीहरुले कर्जा लगानी बढाउने गरी अहिले गरिएको कडाइलाई खुकुलो पर्नु पर्ने माग राखेका हुन्।

व्यवसायीहरुले शेयर धितो कर्जाको क्याप हटाउनुपर्ने, रियलस्टेट क्षेत्रमा जाने कर्जामा लचिलो नीति लिनुपर्ने, लोन टु भ्यालु रेशियो बढाउनुपर्ने तथा कर्जाको जोखिमभार घटाउनुपर्ने माग राखेका थिए। यस्तै चालु पूँजी कर्जामा समेत संशोधन गर्नुपर्ने माग उनीहरुले राखेका छन्।

अहिले कर्जा लगानी निकै सुस्त रहेको अधिकांश सहभागीले कर्जा विस्तारलाई बढाउनुपर्ने सुझाव दिएका छन्। पछिल्लो दुई वर्षमा कर्जा लगानी निकै सुस्ताएको छ। यसले गर्दा अर्थतन्त्रमानै सुस्तता आएको भन्दै सरोकारवालाहरुले अगामी वर्ष राष्ट्र बैंकले लचिलो मौद्रिक नीति ल्याएर कर्जा लगानी बढाउनुपर्ने माग राखेका हुन्।